तपाईँ सुन्दै हुनुहुन्छः

जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरि सरकारले काम गरिरहेको छ:  मन्त्री  शर्मा

धनगढी  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा केन्द्रित भएर काम गरिरहेको बताउनु भएको छ । उहाँले जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरि सरकारले राम्रा काम गरिरहेको र त्यसले जनतालाई आशावादी बनाएको बताउनु भयो । मन्त्री शर्माले समयमै पाठ्यपुस्तक, मलखादको वितरण लगायतका कामलाई सरकारले ब्यस्थित ढङ्गले अघि बढाएको बताउनु भयो ।

प्रेस सेन्टर कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले ललिता निवास प्रकरण, भुटानी शरणार्थी, सुन काण्ड लगायतमा अडिग भई सरकारले काम गरेको र त्यसले जोसुकै भएपनि सजाएको भागिदार हुन्छ भन्ने स्थापित गरेको बताउनु भयो । उहाँले सरकार भ्रष्ट्राचार, विकृति र विसङ्गतिका विरुद्ध निर्मम रुपमा अघि बढिरहेको बताउनु भयो । सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा लागिपरेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले त्यसका लागि सरकारी कार्यदल बनाएर १० बर्से गुरुयोजना निर्माण गरिने बताउनु भयो । उहाँले सूचना प्रविधि दशक अभियानले निजी क्षेत्र उत्साहित भएको र सूचना प्रविधिलाई व्यवस्थित बनाउन सकिए अर्वौ राजस्व भित्र्याउन सकिने बताउनु भयो । मन्त्री शर्माले मिडिया काउन्सिल ऐन संसदमा रहेको र  सामाजिक सञ्जाल सम्बन्धि विधेयक, आमसञ्चार विधेयक दर्ता प्रक्रियामा रहेको तथा दूर सञ्चार ऐनको ड्राफ्ट तयार भएको बताउनु भयो ।  उहाँले आमसञ्चार सम्बन्धी सबै विधेयक, कानुन पारित भएमा पत्रकारिता क्षेत्रमा पुनर्संरचना हुने विश्वास ब्यक्त गर्नुभयो ।

सरकारले विपद् व्यवस्थापनका लागि पूर्व तयारीको काम गरिरहेको र  सञ्चारमाध्यम मार्फत विपद् सचेतना सामाग्री प्रसारणको व्यवस्था सरकारले गरेको उहाँले बताउनु भयो ।

सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले बजेटका कारण सरकार तलमाथि हुँदैन, त्यो सम्भावना छैन,  वर्तमान गठबन्धन राजनीतिक स्थायित्व दिने गरि पूरै अवधि लैजाने  सहमति भएको बताउनु भयो । सरकार बजेट निर्माणको प्रक्रिया छ, विनियोजनमाथि छलफलमा छ, त्यसैले बजेट चाडै पारित हुने उहाँले बताउनु भयो । उहाँले बजेटमा देखिएका कमीकमजोरीलाई सुधार (परिमार्जन) गर्न प्रयत्न गरिने बताउनु भयो । सञ्चारकर्मीको अर्को जिज्ञासामा मन्त्री शर्माले राजदूत लगायतका नियुक्ति सरकारको नियमित प्रक्रिया भएकाले त्यो स्वभाविक भएको उल्लेख गर्नुहुँदै त्यसलाई बजेटसँग जोड्न उपयुक्त हुँदैन भन्नुभयो ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा सहभागी गराउने कुरा हो, त्यसमा प्रधानमन्त्रीज्युले आवश्यकता बमोजिम मन्त्रीमण्डल विस्तार गर्नुहुन्छ, मन्त्री फिर्ता बोलाउने भन्ने होइन, त्यसबारे सरकार र पार्टीमा छलफल पनि भएको छैन, उहाँले भन्नुभयो ।

 मन्त्री शर्माले सामाजिक सूचना सन्देश प्रवाहका क्षेत्रमा चलचित्र क्षेत्र महत्पूर्ण प्रभावकारी माध्यम भएकाले सरकारले शारीरिक रुपमा अपाङ्गता भएका कला क्षमता भएकाहरूलाई कला क्षेत्रमा जोड्ने गरि सरकार लागिपरेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button