तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा अवैध सामान सहित पाँच जना पक्राउ 

मकवानपुर  । प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ठूलो परिमाणमा अवैध भेप र त्यसका फ्लेवरहरू सहित पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङमा काठमाडौँबाट दिल्ली जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बस रोकेर जाँच गर्दा उक्त सामान फेला पारेको हो।

बसको सिलिङमा बनाइएको फल्स बटममा लुकाएर ल्याइएको करिब २ करोड ७१ लाख मूल्य बराबरको ५८ कार्टुन भेप र फ्लेवरहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशङ्कामा बस चालक सलाम मोक्तान, सहचालक प्रविन्द्र राना लगायत पाँच जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूमध्ये केहीले यसअघि पनि यस्तै प्रकृतिका भन्सार छली गरेको खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उक्त सामान काठमाडौँको बालाजु बसपार्क नजिकैबाट लोड गरिएको र बसमा पहिलेदेखि नै फल्स सिलिङ बनाइएको पाइएको छ। बस नेपाल-दिल्ली नियमित रूपमा चल्ने आधिकारिक बस नभएको तर यात्रुहरूलाई विश्वास दिलाउन भिजिटिङ कार्डसमेत दिइएको खुलेको छ।

पक्राउ परेका व्यक्तिहरू र बरामद सामानसहित बसलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button