तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्येक व्यक्ति सचेत भएमात्र सवारी दुर्घटना न्यूनीकरण हुन्छ : मुख्यमन्त्री कार्की 

सुनसरी । कोशी प्रदेशका  मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रत्येक व्यक्ति सचेत भएमात्र सवारी दुर्घटना न्यूनीकरण हुने बताउनुभएकाे छ ।

विराटनगरको सिटी हलमा भएको ट्राफिक सप्ताह २०८१ कार्यक्रमलाई समुद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।   

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्यूनीकरणमा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई मनै देखी धन्यवाद दिँदै ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्यूनीकरणमा थप सहजता हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

झापा, मोरङ र सुनसरीको कुनै निश्चित क्षेत्रमा नमूना ट्राफिक व्यवस्थापनमा नमूना सडक घोषणा गरेर कार्यक्रम गरेको खण्डमा सकारात्मक प्रचार हुने र यसका लागि ट्राफिक प्रहरीले सरकारसँग समन्वय गरेर काम गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिनुभयाे ।

तीव्र गति जीवन क्षेती, ट्राफिक नियम जानौँ पनि मानौँ पनि, आफ्नो लेन चिनौँ, सही लेनमा हिडौं, सिट क्षमता भन्दा बढी यात्रा नगरौँ भन्ने मुल नाराका साथ आजैका दिनबाट एकै साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले समेत विशेष कार्यक्रमहरूको आयोजना गरी कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणको लागि एक हप्ता सम्म विभिन्न सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने गरी ट्राफिक सप्ताहको शुभारम्भ गरिएको छ । 

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगर तथा  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणको लागी प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८१ शुभारम्भ भएको हो ।    

कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षता तथा कोशी प्रदेशका मुख्य मन्त्री कार्कीको प्रमुख आतिथ्यतामा रोडशेस चोकबाट प्रभात फेरी र्‍याली शुरु भई महेन्द्रचोक हुँदै विराटनगरको सिटी हलमा पुगी एक कार्यक्रमको आयोजना बिच ट्राफिक सप्ताहको शुभारम्भ गरिएको छ । 

साथै उहाँले सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीको प्रयोजानार्थ प्रदेश सरकारको तर्फबाट ट्राफिक  व्यवस्थापनका लागि विभिन्न किसिमका सामग्रीहरु प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक खापुङलाई हस्तान्तरण गर्नु भएको थियो । 

सोही कार्यक्रममा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा उल्लेख्य योगदान पुर्याउनु हुने महानुभावहरूलाई उहाँहरूको योगदानको उच्च कदर गर्दै  प्रशंसा पत्र प्रदान गरी सम्मान समेत गरिएको थियो । 

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिला वल्लभ अधिकारी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, यातायात व्यवसायी सरोज श्रेष्ठले ट्राफिक सप्ताहको शुभकामना सहित आ–आफ्नो भनाई राख्नु भएको थियो भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले स्वागत मन्तव्य राख्नुका साथै ट्राफिक सप्ताहको औचित्य माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले ट्राफिक सप्ताहको सफलताको शुभकामना सहित धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै सवारी दुर्घटना न्यूनीकरणको लागि प्रदेश सरकारबाट प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरिक र सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै प्रदेशको ट्राफिक व्यवस्थापन प्रभावकारी  बनाउने विश्वास ब्यक्त गर्नु भयो । 

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, खानेपानी, सिचाई तथा ऊर्जा मन्त्री एकराज कार्की, राज्य मन्त्री सिर्जना राई, प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, नागरिक समाज, संघ संस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button