तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरका स्थानीय तहहरू बजेट निर्माणको तयारीमा, अनुदान घट्दा बजेट घट्ने अनुमान

मकवानपुर। स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा जुटेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आवको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेस गर्नुपर्ने व्यवस्था अनुसार स्थानीय तहहरू बजेट निर्माणमा जुटेका हुन् ।

स्थानीय तहहरुले आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा वार्षिक बजेट निर्माण गर्ने गर्दछन् । यसै क्रममा मकवानपुरका स्थानीय तहहरू अहिले स्रोत समिति र विषयगत समितिको बैठक बसेर प्रस्ताव तयार गर्ने, वडा भेला सम्पन्न गरेर नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने तयारीमा जुटेका छन् ।

स्थानीय तहको बजेट निर्माणको प्रक्रिया

संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गते भित्र स्थानीय तहका प्रमुख वा अध्यक्षले वार्षिक बजेट र कार्यक्रम तयार गरी सभामा पेस गरेको बजेट तथा कार्यक्रमलाई स्थानीय सभाले आवश्यक छलफल र सुझाबको निष्कर्षसहित असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

विधिवत् निर्देशन पालना गरी बजेट निर्माण गर्दा फागुनदेखि नै सुरु भई विभिन्न चरण पार गर्नुपर्ने हुन्छ । फागुन मसान्तभित्र सङ्घबाट, चैत मसान्तभित्र प्रदेशबाट सम्बन्धित स्थानीय तहमा वित्तीय हस्तान्तरणको सीमा र मार्गदर्शन उपलब्ध गराउनुपर्ने, वैशाख १० गतेभित्र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्नुपर्ने, वैशाख १५ गतेभित्र आर्थिक वर्षको बजेट सीमा वडाहरूमा पठाउनुपर्ने, जेठ १५ गतेभित्र वडास्तरीय योजना तर्जुमा र प्राथमिकता निर्धारण गर्नुपर्ने । यस प्रकार समग्रमा जेठ मसान्तभित्र स्थानीय तहले एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरिसक्नुपर्ने व्यवस्था छ ।

स्थानीय तहको बजेटको स्रोत

स्थानीय तहमा सङ्घबाट जाने चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोत हो । नेपाल सरकारको वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, समपूरक विशेष अनुदान छुटाइएको हुन्छ । केन्द्रबाट प्राकृतिक स्रोतको बाँडफाँटका माध्यमबाट स्थानीय तहमा रकम जान्छ । भने, प्रदेशबाट पनि अनुदान जाने गर्छ । संविधानले स्थानीय तहलाई आन्तरिक स्रोतका लागि पनि अधिकार दिएको छ ।

स्थानीय तहले सम्पत्ति कर, भूमि कर (मालपोत), घरजग्गा बहाल कर, व्यवसाय कर, जडीबुटी कवाडी र जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन, बहाल बिरौटी शुल्क, पार्किङ शुल्क, सेवा शुल्क दस्तुरजस्ता माध्यमबाट स्रोतको जोहो गर्न सक्छ । चालु आवमा खर्च नभएर बस्ने मौज्दात रकमलाई पनि स्थानीय तहले बजेटको स्रोत मानेर बजेट बनाउन सक्ने प्रावधान रहेको छ ।

अनुदान घट्दा बजेट घट्ने अनुमान

बजेट तथा कार्यक्रम तर्जुमाका विभिन्न चरणहरू पार गर्दै नीति तथा कार्यक्रम र बजेट निर्माणको अन्तिम तयारीमा जुटेका मकवानपुरका स्थानीय तहहरूको यो वर्ष बजेटको आकार घटने अनुमान गरिएको छ । संघ र प्रदेशबाट प्राप्त हुने अनुदान घटेको र आन्तरिक आम्दानीको स्रोत परिचालन कमजोर बनेपछि प्राय जसो स्थानीय तहको बजेटको आकार चालु आवको तुलनामा १० प्रतिशतसम्म घट्ने अनुमान छ । यसअघि जिल्लाको हेटौँडा उपमहानगरपालिकाले गत असार २ गते चालु आवको तुलनामा ४६ करोड ७२ लाख २० हजार रुपैयाँ अर्थात् १६.७ प्रतिशत कम अर्थात् २ अर्ब ४३ करोड ८० लाख ७१ हजारको बजेट सार्वजनिक गरिसकेको छ ।

थाहाको बजेट १० प्रतिशत घट्ने अनुमान

मकवानपुरको एकमात्र थाहा नगरपालिकाको बजेट आगामी वर्ष चालु आर्थिक वर्षको भन्दा करिब १३ करोड घट्ने अनुमान गरिएको छ । नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले चालु आवको भन्दा १० प्रतिशत हाराहारीमा बजेट घट्ने बताउनुभयो । “हामी छलफल कै क्रममा छौँ, आन्तरिक स्रोत परिचालन कमजोर र प्रदेश र संघीय अनुदान घटेर आएकाले नगरपालिकाको आगामी आवको बजेटको आकार पनि घट्ने भएको छ ।” चालु आवमा एक अर्ब ३ करोडको बजेट रहेकोमा आगामी आवमा ९० करोड हाराहारीको मात्र बजेट हुने अनुमान छ ।” उहाँले भन्नुभयो । असार ७ गते नीति कार्यक्रम र असार १० गते बजेट ल्याउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

राक्सिराङको बजेट १० प्रतिशत घटने

जिल्लाको बिकट राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि चालु आर्थिक वर्षको भन्दा बजेट घट्ने बताउनुभयो । पालिकाले चालु आर्थिक वर्षका लागि ६१ करोड ३५ लाख १३ हजार १९७ रुपैयाँ बराबरको बजेट विनियोजन गरेकोमा आगामी आवमा करिब ५५ करोड बराबरको हुने अनुमान रहेको बताउनुभयो । “आन्तरिक स्रोत परिचालन कमजोर छैन, संघ र प्रदेशबाट आउने अनुदान घटेको छ, सोही अनुरुप पालिकाको पनि बजेटको आकार घट्ने निश्चित छ ।” उहाँले भन्नुभयो । राक्सिराङ गाउँपालिकाले असार ९ गते आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ सभामा पेस गर्ने गरी तयारी गरेको उहाँले बताउनुभयो ।

बकैयाको बजेट चालु आवकै हाराहारी

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले आगामी आर्थिक वर्षको बजेट चालु आवकै हाराहारीमा हुने भन्दै असार १० गतेभित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी भइरहेको बताउनुभयो । बकैयाले चालु आर्थिक वर्षका लागि ८१ करोड ८९ लाख ३६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । उहाँले पालिकाले यो वर्ष पनि कृषि, शिक्षा र पूर्वाधारलाई जोड दिँदै आन्तरिक राजस्व परिचालन वृद्धि गर्ने गरी आगामी आवको आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभयो ।

भीमफेदीको बजेट ५ करोड घट्ने

जिल्लाको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब ७० करोड हाराहारी हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले बताउनुभयो । “स्रोत नै घट्दा यो वर्ष करिब ५ करोडको हाराहारी बजेट घट्छ होला ।” उहाँले भन्नुभयो । चालु आर्थिक वर्षका लागि भीमफेदीले ७५ करोड २६ लाख ७६ हजार ६०० रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । भीमफेदी गाउँपालिकाको नीति तथा कार्यक्रम असार ७ गते र बजेट असार १० गते ल्याउने गरी तयारी गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

इन्द्रसरोवरको बजेट ४० करोड हाराहारी हुने

जिल्लाको सबै भन्दा सानो ईन्द्रसरोवरको आगामी आवको बजेट करिब ४ करोड घट्ने गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले बताउनुभयो । “चालु आव भन्दा करिब ४ करोड बजेट घटेर ४० करोड हाराहारीको बजेट बन्ने अनुमान गरेका छौँ ।” उहाँले भन्नुभयो । ईन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४४ करोड ३४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको आगामी आवको नीति तथा कार्यक्रम र बजेट असार १० गते गाउँ सभामा पेस गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद कार्कीले बताउनुभयो ।

कैलाशको बजेट पनि १० प्रतिशत घट्ने अनुमान

जिल्लाको बैलाश गाउँपालिकाको बजेट पनि आगामी वर्ष घट्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षका लागि ४८ करोड ५९ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको पालिकाको आगामी आवमा करिब १० प्रतिशतकै हाराहारीमा बजेट घट्ने प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले बताउनुभयो । असार ७ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउने गरी तय भएको उहाँले जानकारी दिनुभयो । उहाँले बजेटको आकार घट्ने जानकारी दिँदै कृषि, पर्यटन र ग्रामीण सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर बजेट आउने बताउनुभयो ।

मकवानपुरगढीको बजेट ३ करोड घट्ने अनुमान

आगामी आर्थिक वर्षमा जिल्लाको मकवानपुरगढी गाउँपालिकाको बजेट करिब ३ करोड घट्ने अनुमान गरिएको छ । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले असार १० बजेट ल्याउने बताउनुहुँदै आगामी वर्ष ६० करोड भन्दा मुनिकै बजेट आउने बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ६२ करोड २ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

बागमतीको बजेट बढेर आउने

जिल्लाका सबै स्थानीय तहको बजेट घटेर आउँदा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले भने यो वर्ष पालिकाको बजेट बढेरै आउने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेट कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राख्दै रोजगारीमुखी हुने बताउनुभयो । “यो वर्ष भौतिक पूर्वाधार भन्दा रोजगारी सृजना हुनेखालको बजेट बनाउने र विदेश जाने युवालाई गाउँमै रोजगारी दिने गरि बजेट बनाउँदै छौँ ।” उहाँले भन्नुभयो । चालु आर्थिक वर्षका लागि ६८ करोड ३० लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले आगामी वर्ष करिब ७० करोडको बजेट ल्याउने तयारी गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले असार १० गते बजेट ल्याउने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button