तपाईँ सुन्दै हुनुहुन्छः

तुर्माखाँद गाउँपालिकाले लागू गर्‍यो स्थानीय पाठ्यक्रम ‘राइनचिन’

अछाम । अछामको तुर्माखाँद गाउँपालिकाले ‘राइनचिन’ नामक स्थानीय पाठ्यक्रम लागू गरेको छ । आधारभूत तहका कक्षा एकदेखि आठसम्ममा राइनचिन पढाउन सुरु गरिएको हो । पालिका भित्र पर्ने आठ वडाका ५२ वटै सामुदायिक विद्यालय शिक्षकहरूले करिकुलमका आधारमा पठनपाठन सुरु गरेको गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताउनु भयो । उहाँका अनुसार पाठ्यक्रम मस्यौदा निर्माण समितिले अन्तिम रूप दिएपछि सरोकारवालाहरूबीच सार्वजनिक गरेर राइनचिन विद्यालयमा पठाइएको छ ।

तुर्माखाँदले आफ्नो पाठ्यक्रममा गाउँपालिकाभित्रका धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्र, जडीबुटी, पर्यटकीय स्थल, चाडपर्व, स्थानीय पेसा, व्यवसाय र प्रविधि, सामाजिक मूल्यमान्यता र कुरीतिहरू आदि विषयवस्तुहरू समावेश गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भीमबहादुर चलाउनेले बताउनुभयो ।

पाठ्यक्रम लागू गरिएपश्चात् अब पाठ्यपुस्तक निर्माणको तयारी थालिने छ । त्यसका लागि यही आर्थिक वर्षमा बजेट विनियोजन गरेर आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने अध्यक्ष बिसीको भनाइ छ । उहाँका अनुसार सबै कक्षालाई एकै पटक नसके पनि क्रमशः सबै कक्षाहरूलाई पाठ्यपुस्तक वितरण गरिने लक्ष्य छ । यसपछिको पहिलो शैक्षिक सत्रमा कक्षा एकलाई पुस्तक वितरण गर्ने योजना रहेको अध्यक्ष बिसीले बताउनुभयो  । 

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने लक्ष्यका साथ लागू गरिएको स्थानीय पाठ्यक्रम राइनचिनको एक एकाइमा म, हामी र हाम्रो गाउँपालिका, दुईमा स्थानीय जातजाति, भाषा, वेशभूषा, चाडपर्व कला र संस्कृति, तीनमा स्थानीय पेसा व्यवसाय र प्रविधि, चारमा धार्मिक तथा पर्यटकीय स्थल र ऐतिहासिक व्यक्तित्वहरू, पाँचमा स्वास्थ्य सरसफाइ तथा खेलकुद, ६ मा सामाजिक मूल्य–मान्यता र कुरीतिहरू, सातमा प्रकोप वातावरण तथा विपद् र वातावरणीय संरक्षण, आठमा कृषि, नौमा सहकारी, १० मा स्थानीय पूर्वाधारहरू र एकाइ ११ मा प्राकृतिक स्रोतहरूबारे विषय सूची रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button