तपाईँ सुन्दै हुनुहुन्छः

युवा लक्षित बजेट सुनिश्चित गर्न युवा सञ्जालद्वारा नगरप्रमुखको ध्यानाकर्षण

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा सञ्जालले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा युवा क्षेत्रका कार्यक्रम समावेश गर्न भूमिकास्थान नगरपालिका समक्ष माग गरेको छ ।

सोमबार सञ्जालका संयोजक टेकराज भुसालले १० बुँदे माग पत्र भूमिकास्थान नगरपालिका नगर कार्यपालिकाको बैठकमा नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली र पालिकाका सम्पूर्ण कार्यपालिका सदस्य समक्ष पेस गर्नुभएको हो ।

संयोजक भुसालले नगरस्तरीय युवा सञ्जाल गठन भई विभिन्न नेतृत्व विकास र अन्य तालिमहरू सञ्चालन गर्दै आइरहेकोले आगामी दिनमा युवा परिचालनलाई थप प्रभावकारी बनाउँदै हरेक क्षेत्रमा युवाको प्रतिनिधित्व बढाउन सके युवा पलायन रोक्न मद्दत हुने बताउनुभयो ।

साथै उहाँले युवा वर्गको क्षमता र नेतृत्व विकासको अपेक्षित नतिजा हासिल गर्न, युवामैत्री स्थानीय शासनको विकास गर्नका लागि स्थानीय तहले युवाको क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताउनुभयो ।

नगरप्रमुख थापाले सञ्जालले राखेका मागहरूलाई कार्यान्वयन गर्न आफू र पालिका तयार रहेको र आगामी बजेटमा युवा क्षेत्रका कार्यक्रम समावेश हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button