तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरा सदरमुकाममा खानेपानीको हाहाकार 

डडेल्धुरा। डडेल्धुरा सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । लामो समयदेखि पानी नपर्दा दिन प्रतिदिन खानेपानीको समस्या बढ्दै गएको हाे । 

खानेपानी वितरण गरिरहेको खलंङ्गा खानेपानी उपभोक्ता समितिले ३ लाख लिटर क्षमता भएको टयाँङ्घीमा अहिले १ लाख ५० हजार लिटर मात्र पानी सङ्कलन गर्न सकिने जनाएको छ। 

जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको चरम अभावका कारण सर्वसाधारण नागरिकहरू समस्यामा छन् । अध्ययनका लागि सदरमुकाममा आएकी पार्वती साउँदले उपभोक्ता समितिले वितरण गरेको पानी न आउँदा आसपासको क्षेत्रमा पानी भर्न राती अबेरसम्म लाइन लागेर बस्नु परेको बताउनु भयो ।

 लामो समयको खडेरीका कारण सदरमुकाम वरपरका धारा,तथा नालाहरूसमेत सुक्दै जान थालेका छन् । 

खलंङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष जोगराज ऐरले प्रत्येक तेस्रो दिन मात्र खानेपानी वितरण भइरहेको बताउनु भयो । अवस्था यस्तै रहेमा अझै खानेपानीको समस्या बढ्न सक्ने ऐरको भनाई छ ।

डडेल्धुरा सदरमुकाममा १६ सय बढी धाराबाट खानेपानी वितरण भइरहेको उपभोक्ता समितिले जनाएको छ । 

लामासिंह, मतरे र अनारवे गरी तीनवटा स्रोतबाट अमरगढी नगरपालिकाको वडा नं २,वडा नं ४ , वडा नं ५ र वडा नं ८मा वितरण गरिँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button