तपाईँ सुन्दै हुनुहुन्छः

पन्ध्र करोड ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्सलगायतका देश पठाइदिन्छु भनी तीन सयभन्दा बढी व्यक्तिबाट रु १५ करोड ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

प्रहरीले पक्राउ गरेकाहरूमा चितवनको भरतपुर महानगरपालिका-१८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ घर भई हाल पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २२ वर्षीय नवीन विक र कास्कीकै पोखरा महानगरपालिका-८ घर भई हाल चितवनको भरतपुर महानगरपालिका-८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् । 

फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा फेक आइडी प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भनी आकर्षक तलब, भत्तासहितको विज्ञापन गरी सम्पर्कमा आएकाहरूलाई ठगी गर्ने गरेका थिए । उक्त ठगीको सम्बन्धमा उजुरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

कार्यालयका कर्मचारीहरूको खातामा विदेश जान सम्पर्कमा आएका मानिसबाट रकम जम्मा गर्न लगाइ उक्त रकम चेकबाट निकालेर विभिन्न खातामा जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको  छ । उनीहरूले भिसा प्रक्रिया चलिरहेकाले भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्टलगायतका नक्कली कागजात देखाइ टिकट र डलर साट्न पैसा लाग्ने भन्दै प्रति व्यक्ति रु पाँच लाखदेखि १० लाखका दरले पैसा लिएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button