तपाईँ सुन्दै हुनुहुन्छः

पाँचपोखरीमा नमुना युवा संसद् अभ्यास

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नमुना युवा संसद् अभ्यास गरिएको छ ।

युवालाई संसदीय अभ्यास सिकाएर आफ्ना विचार स्वस्थ ढङ्गबाट प्रस्तुत गर्न, युवामा प्रजातान्त्रिक आचरणको विकास गराउने तथा प्रतिनिधि सभामा नीति निर्माण गर्ने प्रक्रियाको बारेमा अवगत गराउने उद्देश्यले नमुना युवा संसद् आयोजना गरेको गाउँपालिका खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।

संसद् अभ्यासमा सभामुख शर्मिला भट्टराईले संसद् सुचारु भएको घोषणा गरेलगत्तै राष्ट्रपति उषा तामाङले नीति तथा कार्यक्रम पढेर सुनाउनुभयो भने अर्थमन्त्री कृष्टिना अधिकारीले २० खर्ब ५० अर्ब २० करोडको बजेट प्रस्तुत गर्नुभएको थियो ।

स्वास्थ्य तथा सरसफाई सम्बन्धी विधेयक स्वास्थ्य मन्त्री हिरा तामाङ, कृषिसम्बन्धी विधेयक कृषि मन्त्री नितेस आचार्य, पर्यटनसम्बन्धी विधेय पर्यटन मन्त्री रिमा तामाङ, उद्योगसम्बन्धी विधेयक उद्योग मन्त्री लाक्पा छिरिङ तामाङ, बालबालिकासम्बन्धी विधेयक बालबालिका मन्त्री प्रीतिमाया स्याङ्बो, बन तथा वातावरणसम्बन्धी विधेयक बन मन्त्री सागर दोङ, सूचना सञ्चार तथा प्रविधिसम्बन्धी विधेयक सूचना तथा सञ्चार मन्त्री तासी तामाङ र शिक्षासम्बन्धी विधेयक शिक्षा मन्त्री रुबिना खड्काले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रम, बजेट र विधेयकको सत्तापक्षका सांसदले प्रशंसा गरेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले विरोध गरेका थिए । सभामुखले ध्वनि मतका आधारमा बहुमत सदस्यले हुन्छ भनेकाले प्रस्तुत कार्यक्रम, बजेट र विधेयक पास भएको घोषणा गर्नुभयो ।

नमुना युवा संसद्लाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले बहु पहिचान सहितको गाउँपालिका सभाहलमा पहिचान सहित आएका माननीय विद्यार्थीहरूले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले संसद् भवनमै बसेको अनुभूति हुने गरी कार्यक्रम गरेको भन्दै आफु विद्यार्थीको क्षमता देखेर खुशी भएको बताउनुभयो । उहाँले विद्यार्थीको क्षमता विकासको लागी गाउँपालिका सधैँ साथमा रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयका ७० जना विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रम सञ्चालक तथा संसद् सचिवालयका सदस्य शिक्षक अजय धितालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button