तपाईँ सुन्दै हुनुहुन्छः

‘श्रमाधान रोजगार मेला’ मा छब्बीस सय बढीको दिए आवेदन

कैलाली । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला” मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् ।

सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार छ सय ६९ जनाले आवेदन दिएको श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख जनकसिंह उखेडाले जानकारी दिनुभयो । मेलामा उपस्थित भएर एक हजार चार सय ६९ जना र अनलाइनमार्फत एक हजार दुई सय जनाले आवेदन दिएको उखेडाले बताउनुभयो ।

उहाँका अनुसार प्रदेशका नौ वटा जिल्लामध्ये सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुर तथा अन्य पहाडी जिल्लाका युवाले आवेदन दिएका छन् । विभिन्न रोजगारदाताले दुई हजार छ सय ५४ जना माग गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव बसन्तबहादुर बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्ति र रोजगारदाताबिच समन्वय गर्न श्रमादान मेलाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

मेलामा सुरक्षित आप्रवासन, रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीलगायत विषयमा कार्यशाला सञ्चालन गरिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button