तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक अस्थिरताले महत्वपूर्ण काम समयमै हुन सकेनन्: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशमा महत्वपूर्ण काम समयमै हुन नसकेको धारणा राख्नुभएको छ । प्रदेश योजना आयोगद्वारा आयोजित ‘प्रदेश विकास परिषद्’ बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले समयमै आयोजना सम्पन्न गर्नेतर्फ सरकारको ध्यान गएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले सो बैठकको छलफलका क्रममा उठेका मूलभूत विषय नयाँ बजेटमा समावेश गरिने बताउनुभयो । उहाँले सप्तकोशी नदी किनारमा रहेको महाकुम्भ क्षेत्रको विकास गरी धार्मिक पर्यटक बढाउन सकिने उल्लेख गर्नुभयो ।

पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले विकास निर्माणमा सङ्घ र प्रदेश सरकारबीच तालमेल नमिलेको बताउनुभयो । पन्ध्रौँ पञ्चवर्षीय योजना सकिन लागेको र १६औँ पञ्चवर्षीय योजना लागू हुने सङ्घारमा देशभित्रका सबै सम्भावना र स्रोत परिचालन गर्ने गरी योजना बन्नुपर्ने उहाँको भनाइ थियो । डा खतिवडाले कोशी प्रदेश सरकारलाई जलस्रोत, कृषि, ऊर्जाका क्षेत्रलाई व्यापक उपयोग गरी उदाहरणीय काम गर्न सुझाव दिनुभयो ।

प्रदेश विकास परिषद्का सदस्य एवं नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सङ्घीयता कार्यान्वयन प्रभावकारी ढङ्गले हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश सरकारसमक्ष नयाँ पुस्तालाई आशा जगाउने गरी योजना बनाउन र कार्यान्वयन गर्ने जिम्मेवारी रहेको बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले आवधिक योजना आर्थिक वृद्धिदरलाई स्थायी बनाउन, निजी र सहकारी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्न र वैदेशिक लगानी भित्र्याउने गरी निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेश योजना आयोगका सचिव मिमांस अधिकारीले दोस्रो आवधिक योजना बनाउनका लागि कोशी प्रदेशभित्र एक हजार जनाको सुझाव लिएको र यसका आधारमा निर्माण भएको दस्ताबेजलाई अझ समृद्ध र सुदृढ बनाउन आजको बैठक आयोजना भएको जानकारी दिनुभयो ।

बैठकमा कोशी प्रदेश सरकार मन्त्री, प्रदेश योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका सचिव, विकास परिषद्का सदस्य, कोशी प्रदेशसभाका विषयगत समितिका सभापति, स्थानीय तहका प्रमुख वा अध्यक्षको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button