तपाईँ सुन्दै हुनुहुन्छः

मुहान संरक्षण गर्दै साखेजुङ्गका घर-घरमा खानेपानीको व्यवस्था  

व्यवस्थित रुपमा खानेपानी वितरण भएपछि स्थानीयबासी हर्षित

इलाम । खानेपानीको सहज सुविधा नपाएका इलाम नगरपालिका वडा न-१ स्थित साखेजुङ्गमा  व्यवस्थित रुपमा खानेपानी वितरण भएपछि स्थानीयबासी हर्षित भएका छन् ।

वर्षौँदेखि स्वच्छ पिउने पानीको उपभोग गर्न नपाएका यहाँका स्थानीय बासीले ‘हिले खोला रसाईलीगाउँ ,गुरुङ गाउँ ,मगरगाँउ खानेपानी योजना ’निमार्ण सम्पन्न भई घर घरका धारामा पानी झरेपछि दैनिकी सहज भएको स्थानीय बताउँछन् । टाढा टाढाबाट पानी बोकेर खानु पर्ने बाध्यता रहेकोले पहिले असहज रहेको स्थानीय भिमा रसाइली बताउनु हुन्छ ।  उहाँले भन्नु भयो ‘ पानी लिन जाने समयमा घरधन्दा र खेतीपातीको काम गर्न सकिने भएको छ ’ । 

यस अघि एउटै कुवाबाट धेरै घरपरिवारले पानीको पाइप जोडेर खाने गरेको स्थानीय मुना देवी खत्री बताउनु हुन्छ । एउटै कुवाबाट पानी जोडेपछि छिमेकीबिच मनमुटाब पनि हुने गरेको अनुभव सुनाउनुहुन्छ खत्री । अहिले पानी बनाउन  जानु पर्दैन घरघरमा धारा भएपछि सहज भएको खत्रीको भनाई छ । 

घण्टौँ लगाएर पानी बोक्नु पर्ने दैनिकी रहेको थिर कुमारी शिवाको दैनिकी फेरिएको छ । साना साना बालबच्चा साथै लिएर पानी बोकेर ल्याउनु पर्ने शिवाको दैनिकी अहिले बदलिएको छ । घरमा पानीको व्यवस्था भएपछि घरधन्दा चुलो चौकाको काम सकेर अन्य कृषिको काम गर्न समय पुग्ने गरेको उहाँ बताउनु हुन्छ ।  

पहिले पनि यस क्षेत्रमा पानीको व्यवस्था नभएको होइन  , हेरचाह , पानीको मुहान संरक्षण  र मर्मत सम्भार हुन नसक्दा दुःखले पानी खाएको स्थानीय हर्क सिंह रसाईली सुनाउनु हुन्छ ।  व्यवस्थित खानेपानीको लागि गैरसरकारी संस्था र स्थानीय सरकारले सहयोग गरेपछि आफूहरूले पनि श्रमदान गरी निमार्ण कार्यमा सहभागी भएको बताउनु भयो । उहाँ भन्नु हुन्छ ‘अहिले धेरै सहज भएको छ ’ । 

खानेपानी योजना सम्पन्न गर्न  १६ लाख ६९ हजार ५८०  रुपैंया खर्च भएको छ ।  इलाम नगरपालिकाको ८ लाख ३४ हजार, सहयात्रा नेपालबाट ५ लाख र उपभोक्ता बाट  ३ लाख ३५ हजार रुपैयाँको बराबरको श्रमदान भएको उपभोक्ता समिति अध्यक्ष तारा देवि थापाले बताउनु भयो । महिलाहरूको मात्रै उपभोक्ता समिति निमार्ण गरि काम सम्पन्न भएको जनाइएको छ । इलाम नगरपालिकाका साना ठुला परियोजना मार्फत नगरवासीलाई खानेपानी सुविधा उपलब्ध गराउन नगरपालिका इलाम नगरपालिकाका  मेयर केदार थापाले शनिबार खानेपानी योजनाको उद्घाटन पछि बताउनु भयो । साना शहरी खानेपानी आयोजना सम्पन्न भई नगरमा खानेपानी वितरण भइरहेको छ । शहरी क्षेत्र बाहेकका वडाहरूमा खानेपानी सुविधा पुर्‍याउन अन्य संघ संस्था , प्रदेश र संघीय सरकार सँग पहल गरिरहेको मेयर थापाले बताउनु भयो । 

यस अघि अव्यवस्थित रुपमा पानी उपभोग गरिरहेको इलाम नगरपालिका  वडा नम्बर १ का वडाध्यक्ष गायत्री बस्नेतले बताउनुभयो । थिए । व्यवस्थित नहुँदा कसैले धेरै कसैले थोरै पानी प्रयोग गरिरहेको वडाअध्यक्ष बस्नेतले बताउनु भयो । यस योजना नमुना योजनको रुपमा सञ्चालन गरिएको र आगामी वर्ष थप खानेपानीको कार्यक्रम सञ्चालन गरी खानेपानी बाट बञ्चित भएका नागरिकलाई उपलब्ध गराउने  वडाध्यक्ष बस्नेतले बताउनु भयो । 

योजना सम्पन्न पछि यस स्थानमा खानेपानीको अभाव टरेको छ । २० हजार लिटर क्षताको एउटा रिर्जव ट्याङ्की निमार्ण गरी घर घरमा धारा जडान गरिएको  छ ।  जलवायु परिवर्तन र जथाभाबी गरिएको विकास निमार्णका कारण पानीका श्रोतहरू सुक्दै गएको कारण मुहान संरक्षण कार्यक्रम  अन्तर्गत टेवाको अनुदान र स्थानीय सरकारको अनुदानमा  खानेपानी आयोजना सम्पन्न गरिएको सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाले बताउनु भयो ।

वातावरण तथा मुहान संरक्षण गर्दै स्वच्छ खानेपानी तथा सरसफाई कार्यक्रम सञ्चालन गरिएको शिवाको भनाई छ । उहाँले भन्नु भयो ‘पानीको व्यवस्थापन  गर्न महिला नै अघि सर्नु पर्ने भएकोले घर घरमा धारा जडान हुँदा महिलालाई सहज हुनेछ’ ।  ‘ पानीको जोहो गर्ने समयको बचत गरी अन्य कार्यमा समय दिन सक्ने शिवा बताउनुहुन्छ ।  

घरमै खानेपानी आएसँगै पानीको जोहो गर्नको लागि खर्चिने समय स्थानीयले अन्य काममा लगाउन पाएका छन् ।  शुद्ध पिउने पानी व्यवस्थापन सँगै कृषि उत्पादनको लागि सहज बन्ने स्थानीय बासी बताउँछन् । यस योजना बाट  ५६ घरपरिवार लाभान्वित भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button