तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजमाथि छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमाथि छलफल सम्पन्न गरेको छ । पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै जिल्लामा दस्ताबेजको मस्यौदा पठाएको थियो ।  राजनीतिक दस्ताबेज, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक गरी चार दस्ताबेजमा छलफल गरिएको हो ।

यही जेठ मसान्तभित्र सबै मातहतका कमिटीले सुझाव केन्द्रमा पठाउन समयसीमा तोकिएको छ । बागमती प्रदेश  कमिटीका अध्यक्ष सावित्रा भुसाल तथा बागमती इन्चार्ज डा गङ्गालाल तुलाधरको उपस्थितिमा ती दस्ताबेजमा छलफल गरिएको थियो ।  सो छलफलबाट निस्केको निष्कर्षलाई समेटेर केन्द्रलाई बुझाउने तयारी गरिएको जनाइएको छ  । दस्ताबेजलाई एउटै प्रतिवेदन बनाएर राष्ट्रिय महाधिवेशनमा लैजाने बागमती प्रदेश कमिटी सचिव लक्ष्मण लम्सालले जानकारी दिनुभयो । 

सोही कमिटीले काभ्रेबाट प्राणनाथ न्यौपाने, राजु नेपाल, सन्तवीर तामाङ, छवि हुमागाईँलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी प्रदान गरेको छ । पार्टी सङ्गठन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गर्नुभएकाले कामको मूल्याङ्कन गर्दै प्रदेश कमिटीको जिम्मेवारी प्रदान गरिएको सचिव लम्सालले जानकारी दिनुभयो ।

महाधिवेशनको कार्यप्रगति तथा तयारीबारे मातहतका कमिटीले पार्टी केन्द्रलाई जानकारी गराउनुपर्ने प्रावधान छ । महाधिवेशनका लागि निर्माण गरिएको प्रतीक चिन्हमा नेपालको फरफराइरहेको राष्ट्रिय झन्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।  कम्युनिष्ट पार्टीको झण्डा राखिएको प्रतीक चिन्हमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ भन्ने सन्देश उल्लेख छ ।

पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा तय गरिएको छ  । महाधिवेशनलाई सम्पन्न गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १४ सदस्यीय कमिटी निर्माण गरिएको छ ।  पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button