तपाईँ सुन्दै हुनुहुन्छः

‘साहु बा’ वेब शृङ्खला प्रदर्शनका लागि तयार

काठमाडौँ । वेब शृङ्खला ‘साहु बा’ को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शृङ्खलाको टिजर सार्वजनिक गरिएको हो । 

सार्वजनिक श्रव्यदृश्यले शृङ्खलामा अभिनय गर्नुभएका कलाकारको आवरण (गेटअप) र कथासार बुझ्न मदत पुग्ने निर्देशक सुजय योङले बताउनुभयो ।  “शृङ्खलाको लेखनमा तीन वर्ष समय खर्चिएका छौँ । यसको छायाङ्कनमा पनि समय लागेको छ । मेरो योजनामा प्रसिद्ध कलाकार जोडिनुभयो, यो सफल भएमा नेपालमा शृङ्खला बन्ने क्रम बढ्नुका साथै चलचित्रका कलाकार पनि अभिनय गर्न तयार हुने मैले देखेको छु । त्यसैले यो मेरा लागि त महत्वपूर्ण छ नै यसले नेपालमा वेब शृङ्खलालाई नयाँ सम्भावना दिने छ”, निर्देशक योङले भन्नुभयो । 

अभिनेत्री प्रियङ्का कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोलालगायतका कलाकारले शृङ्खलामा अभिनय गर्नुभएको छ ।

अभिनेत्री कार्कीले यो शृङ्खलामा अभिनय गर्नुको कारण कथावस्तु रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“यो नेपालमा नयाँ प्रयोग पनि हो । मलाई यसको विषयले आकर्षित गरेको हो । मेरो बच्चा भएको समय भएकाले त्यहीअनुरूप मेरो पात्र तयार गरिएको थियो तर २४ औँ भाग खिच्दासम्म मेरो शारीरिक अवस्था परिवर्तन भएको देख्नुहुनेछ ।” 

यो शृङ्खला एपी वान टेलिभिजन र ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा प्रदर्शन हुनेछ । फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको शृङ्खलालाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर छायाङ्कन गर्नुभएको हो । शृङ्खलाको कथा, पटकथा तथा संवाद निर्देशक योङले नै तयार गर्नुभएको हो । 

प्रेम, विश्वासघात र प्रतिसोधको कथा समेटिएको शृङ्खलालाई द्वन्द्व र अपराध ९एक्सन तथा क्राइम० विधामा तयार गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button