तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव सुरु

इलाम । इलामको सूर्योदय नगरपालिका-११ तीन घरेमा आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव सुरु भएको छ । दुई दिने आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनीसँगै खानाका स्टल लगायतका कार्यक्रम रहेका छन् । 

नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्च फिक्कलको आयोजना कोशी प्रदेशमार्फत सशर्त अनुदानतर्फ सूर्योदय नगरपालिकाले प्राप्त गरेको आठ लाख रुपियाँ लगानीमा सुरु भएको महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका परम्परा, संस्कार संस्कृति झल्काउने झाकी नृत्य र लोपोन्मुख लाप्चा , राई ,लिम्बु, मगर, नेवार, तामाङ लगायत विभिन्न जातिका मौलिक खानाका परिकारका स्टल राखिएको नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद्का अध्यक्ष सोनाम यल्मोले जानकारी दिनुभयो ।

यल्मोको अध्यक्षता जिल्ला समन्वय समिति इलामका अध्यक्ष जय प्रकाश राईको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति इलामका उपाध्यक्ष चित्रकला बराइली सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् इलामका अध्यक्ष चक्र एक्तेन वडा न -११ का अध्यक्ष सन्तोष राई वडा न ३ का अध्यक्ष लोक बहादुर प्रधान लगायत विभिन्न जातीय संस्थामा प्रतिनिधि सरोकारवाला नगरवासीको बाक्लो उपस्थितिमा महोत्सव उद्घाटन भएको थियो ।

जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले विभिन्न जातजातिको रहनसहन, भाषा संस्कृति संरक्षण गर्न महोत्सवले सहयोग पुग्ने बताउनुभयो । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले नगरपालिकाले विभिन्न जातजातिको संस्कार संस्कृतिलाई पर्यटनमा जोड्न नगरले आर्थिक स्रोतको व्यवस्थापन गर्दैआएको बताउनु भयो ।आयोजक सूर्योदय महिला मञ्चका सचिव साधना फागोले  महोत्सवले भाषा संस्कृति संस्कार संरक्षण र  ठूलो टेवा पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम जारी राख्नु पर्नेमा जोड दिनु भयो।

महोत्सवमा किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार प्रवर्द्धनमा सेवा समाज, नेपाल तामाङ घेदुङ, नेपाल योल्मो समाज सेवा सङ्घ, नेपाल शेर्पा समाज, नेपाल मगर सङ्घ, लाप्चा उत्थान मञ्च, नेवास् दय दबूँ, नेपाल थामी समाज, तमु ह्युल छोँज दी, भुजेल सेवा समिति, किरात याम्फू समाज, किरात मेवाहाङ याखोम्मा लगायतको सहभागिता छ । 

महोत्सवमा नगर क्षेत्रका विभिन्न जातजातिको झाकी नृत्य तथा भाषा धर्म संस्कार संस्कृति परम्परा लगायत बारेमा विशेष छलफल भएको थियो भने पुजन प्रधान लेखु मुखिया लगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button