तपाईँ सुन्दै हुनुहुन्छः

सुख्खा पहिरोले अलपत्र परेका पर्यटकको उद्धार (अपडेट)

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ देउरालीमा सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भई अलपत्र परेका ६० जना पर्यटक वैकल्पिक मार्ग मार्फत लामाबगर आइपुगेको स्थानीयले बताएका छन् । सासा हाइड्रो पावरले खनेको सडकमा सुख्खा पहिरो खसेको थियो ।

पहिरोले सडक अवरुद्ध भएपछि चीनसँगको सिमाना लप्ची गाँउमा रहेको लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्रको उद्घाटन र दीर्घायु पुजामा सहभागी भई फर्कँदै गरेका २५ विदेशी सहित झण्डै ६० जना पर्यटक देउराली क्षेत्रमा अलपत्र परेका थिए । उनीहरू दुगड ग्रुपको सहयोगमा वैकल्पिक मार्ग प्रयोग गरी लामाबगर आइपुगेको विगु गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष मेम बहादुर तामाङले बताउनुभयो ।

सुख्खा पहिरो गएको ठाउँ माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम रहेको लामाबगर भन्दा झण्डै तीन किलोमिटर माथि पर्ने वडा अध्यक्ष तामाङले बताउनुभयाे । सुख्खा पहिरो गएको ठाउँमा पुग्न माथिल्लो तामाकोशी आयोजनाको ड्यामसंगैको एक किलोमिटर सुरुङमार्ग हुँदै तीन किलोमिटर पार गर्नुपर्ने वडा अध्यक्ष तामाङले बताउनुभयो ।

शुक्रवार बिहान १०ः३० बजे झरेको सुख्खा पहिरोले झण्डै दुई घण्टा तामाकोशी नदी थुनिएको थियो । नदी थुनिएको खबर पाएपछि तामाकोशी आयोजनाले विद्युत् उत्पादन गरेर ड्यामको पानी घटाएको र अहिले नदी खुलेर पानी सामान्य अवस्थामा बग्न थालेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताउनुभयाे । सुख्खा पहिरोले तामाकोशी नदी थुनिए पनि माथिल्लो तामाकोशी आयोजनालाई कुनै समस्या नभएको प्रमुख कार्यकारी अधिकृत गौतमको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button