तपाईँ सुन्दै हुनुहुन्छः

सुख्खा पहिरो खसेर सडक अवरुद्ध हुँदा २५ विदेशीसहित ६० पर्यटक अलपत्र

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर–१ देउरालीमा सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएपछि ६० पर्यटक अलपत्र परेका छन् ।

दुगड ग्रुपको सासा हाइड्रो पावरले खनेको सडकमा सुख्खा पहिरो खसेपछि आवतजावत बन्द भएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि चीनसँगको सीमाना लप्ची गाँउमा रहेको लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्रको उद्घाटन र दीर्घायु पुजामा सहभागी भई फर्कँदै गरेका २५ विदेशीसहित झण्डै ६० जना पर्यटक अलपत्र परेको विगु गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तामाङले बताउनुभयो ।

दुगड ग्रुपलाई वैकल्पिक सडक खनेर भएपनि अलपत्र परेका पर्यटकलाई उद्धार गर्न आग्रह गरिएको र अहिले वैकल्पिक व्यवस्थाको लागि प्रयास भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

सुख्खा पहिरो गएको ठाउँ माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याम रहेको लामा बगरभन्दा झण्डै तीन किलोमिटरमाथि पर्ने वडा अध्यक्ष तामाङले बताउनुभयो । सुख्खा पहिरो गएको ठाउँमा पुग्न माथिल्लो तामाकोशी आयोजनाको ड्यामसँगको एक किलोमिटर सुरुङ मार्ग हुँदै तीन किलोमिटर पार गर्नुपर्ने वडा उहाँले बताउनुभयो ।

आज बिहान १०ः३० बजे झरेको सुख्खा पहिरोले झण्डै दुई घण्टा तामाकोशी नदी थुनिएको थियो । नदी थुनिएको खबर पाएपछि तामाकोशी आयोजनाले विद्युत् उत्पादन गरेर ड्यामको पानी घटाएको र अहिले नदी खुलेर पानी सामान्य अवस्थामा बग्न थालेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताउनुभयो ।

सुख्खा पहिरोले तामाकोशी नदी थुनिए पनि माथिल्लो तामाकोशी आयोजनालाई कुनै समस्या नभएको प्रमुख कार्यकारी अधिकृत गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button