तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनमा खानेपानीको समस्या हट्यो

पाल्पा । जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको समस्या हटेको छ । तानसेन खानेपानी उपभोक्ता समितिले आज पत्रकार सम्मेलन गरेर वैशाख, जेठ जस्तो सुख्खा मौसममा समेत यस बर्ष तानसेनमा खानेपानीको समस्या नभएको जनाएको छ । 

पत्रकार सम्मेलनमा तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले दैनिक १९ लाख लिटर पानी सङ्कलन हुने गरेको भएपनि त्यो पर्याप्त भने नभएको बताउनुभयो । उहाँले विगतका बर्ष जस्तो १५ देखि २० दिनमा धारामा पानी आउने समस्या अहिले नरहेको जानकारी दिनुभयो । 

समिति गठन भएको छ महिनामा ५० नयाँ धारा थप भई ४ हजार ४३० जना उपभोक्ता रहेका छन् । विगतमा घर निमार्ण सम्पन्न भएको बर्षौसम्म पनि घरमा खानेपानी जडान नहुने समस्या हल गर्दै निवेदन दिएको एक साता भित्रै धारा जडान हुने गरेको छ ।

उपभोक्ता समितिले सबै मूलका टङ्कीमा एक-एक वटा अतिरिक्त पम्प जडान गर्ने, बिद्युत् लाइन सुधार गर्ने, महसुल घटाउन पहल गर्ने, जीर्ण टङ्की मर्मत गर्ने, ३० लाख लिटर क्षमताको रिजर्भ टङ्की निमार्ण गर्ने जस्ता योजना रहेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button