तपाईँ सुन्दै हुनुहुन्छः

श्रोतासँग प्रत्यक्ष अन्तरक्रिया हुने कार्यक्रम बनाउनुपर्नेमा कार्यकारी निर्देशक केसीको जोड

दिपायल । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले श्रोतासँग प्रत्यक्ष अन्तरक्रिया हुने कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलको सोमबार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा कार्यकारी निर्देशक केसीले रेडियो नेपालले अब नागरिकसँग प्रत्यक्ष संवाद हुने गरी कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा रहेका रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्र तथा एफ.एम. रिले स्टेसनहरूको स्थलगत निरीक्षणका क्रममा रहनुभएका कार्यकारी निर्देशक केसीले प्रादेशिक प्रसारण केन्द्र दिपायलमा आज प्राविधिक, व्यापार, कार्यक्रम तथा समाचारका विषयमा प्रादेशिक प्रसारणको अवस्था र आगामी वर्षमा गर्नुपर्ने कार्ययोजनाबारे कर्मचारीहरूसँग अन्तरक्रिया तथा छलफल गर्नुभएको थियो ।

उहाँले प्रादेशिक प्रसारण केन्द्र दिपायलले गर्नुपर्ने कार्य, प्रसारण क्षमता वृद्धिसँगै व्यापार बढाउनेबारे कर्मचारीहरूसँग अन्तरक्रिया गर्नुभयो । त्यस अवसरमा प्रादेशिक प्रसारण केन्द्र दिपायलका कर्मचारीहरूले भोग्नुपरेका समस्या समाधानबारे रेडियो नेपालको बोर्ड बैठकबाट स्वीकृत गराउन सक्दो प्रयास गर्ने प्रतिबद्धता कार्यकारी निर्देशक केसीले व्यक्त गर्नुभयो ।

रेडियो नेपाल दिपायल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख दान सि ऐरले प्रादेशिक प्रसारण केन्द्र दिपायलको वर्तमान अवस्था र चुनौतीहरूबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक (इन्जिनियरिङ) कृष्णचन्द्र पौडेल, योजना निर्देशक पुष्करराज गौतम, व्यापार उपनिर्देशक पुस्कर बराल, प्रादेशिक प्रसारण केन्द्र दिपायलका प्राविधिक अधिकृत नारायण दत्त पनेरु लगायतको सहभागिता रहेको थियो ।

त्यसअघि कार्यकारी निर्देशक नेतृत्वको टोलीले बाजुराको कालाजाग्रामा रेडियो नेपालको रिले स्टेसन स्थापनाका लागि छनौट भएको स्थानको प्रत्यक्ष निरीक्षण गर्नुका साथै बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल लगायत सरोकारवालहरूसँग छलफल गर्नुभएको थियो ।

आजै कार्यकारी निर्देशक नेतृत्वको टोलीले उडीतोला डोटी र खोड्पे बैतडीमा अवस्थित रेडियो नेपालका एफ रिले प्रसारण केन्द्रहरूको अवलोकन तथा निरीक्षण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button