तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र दिवस नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १७ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना र बधाई व्यक्त गर्नुभएको छ। 

राष्ट्रपति पौडेलले एक विज्ञप्तिमार्फत ‘आजको दिन नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिनसमेत भएको बताउनुभयो । उहाँले १७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ। यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ ।’ भन्नुभएको छ । 

साथै, उहाँले लोकतान्त्रिक आन्दोलनका लागि जेल, नेल र यातना सहने नेपाली दाजुभाइ तथा दिदीबहिनी, परिवर्तनका सारथी नागरिक र राजनीतिक दल सबैलाई अभिनन्दनसमेत गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले कुनै एक दिनलाई गणतन्त्र दिवस भनेर केवल औपचारिक उत्सव मनाइरहेको मात्र नभएर त्यो ऐतिहासिक क्षणलाई सम्झिरहेको र सम्पूर्ण नागरिक जीवनलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकारसम्पन्न बनाउने तथा नागरिकलाई खुसी दिने सङ्कल्प गरेको बताउनुभयो । साथै आजको दिनले अझ धेरै प्रतिबद्ध बनाउनेछ भन्नेमा आफू पूर्ण विश्वास रहेको बताउनुभयो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरि समुन्नत भविष्यका लागि एकताबद्ध भएर राज्य र राष्ट्रनिर्माणको अभिभारा दिएको राष्ट्रपति पौडेलले बताउनुभयो । 

गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तर माथि उठाउने हो साथै उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्धन एवम् सुशासन हो। त्यसैले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुसी र उज्यालो पुग्दैन, त्यो बेलासम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा नहुने उहाँको भनाई छ। 

नागरिकका आमसमस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्य गरि नेपालको प्रतिष्ठालाई विश्वमा उँचो बनाई विकासको नयाँ उचाइ प्राप्त गर्न सकौँ भनी राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button