तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न गृहमन्त्रीको निर्देशन 

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट वाट हुन सक्ने सम्भावित क्षति रोक्न जोखिम प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य, राष्ट्रिय कार्ययोजना,२०८१ माथि आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री लामिछानेले विपद्को अति जोखिम भएका ठाउँमा सूचना दिने गरी तत्काल जनशक्ति खटाउन मातहतका निकायलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछानेले सम्भावित क्षति न्यूनीकरणका लागि  अन्तर निकाय समन्वय, साझेदार निकाय, दातृ निकाय बिच निरन्तर छलफल गरी गृह मन्त्रालयको नेतृत्वमा एकीकृत सहायता प्रणालीको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

लामिछानेले प्रत्येक जिल्लामा अस्थायी सहायता केन्द्र, टेलिफोन केन्द्र,विपद प्रभावित क्षेत्रमा निशूल्क टेलिफोन सेवा, स्वास्थ्य सेवाको अभाव नहुने गरी प्रबन्ध मिलाउन समेत निर्देशन दिनुभयो ।

छलफलमा  गृह सचिव एकनारायण अर्यालले  विगतमा विपद्का समयमा राहत र उद्धारमा हुने गरेको ढिलासुस्ती र अन्यौलता हटाउन समन्वयलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।

छलफलमा सहभागी विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले साझेदार निकायसँग समन्वय गरी आवश्यक उपकरण र स्वयंसेवकको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button