तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकको रोजाइमा चितवनको ‘राइनो ताल’ 

चितवन । भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनअन्तर्गत रहेको राइनो ताल पछिल्लो समय पर्यटकको रोजाई बन्दै गएको छ । नारायणगढबाट नजिकै पर्ने यो ताल चितवनको पर्यटकीय गन्तव्य मध्ये एक हो । बजार क्षेत्रबाट जल तथा जङ्गल पर्यटनको आनन्द लिन पाईने भएकोले पनि पर्यटक यस तालतर्फ आकर्षित भएका हुन् । केही बर्षअघि मात्र तालको पानी सुकेर जङ्गली जनावरलाई समेत समस्या परेपछि यस तालको उत्खनन र संरक्षण गरी सञ्चालनमा ल्याइएको छ । 

नारायणगढकी सरोजा आचार्यले गर्मी याममा भुल्न र रमाउनको लागि घर नजिकैको ताल रोजेको बताउनुहुन्छ । ‘गर्मी याममा बच्चाबच्ची सहित कहाँ जाउंँ हुन्छ, शीतल पनि हुने, बच्चाहरू पनि रमाउने , त्यही भएर राइनो ताल आएको ।’ आचार्यले भन्नुभयो । तालमा हाल आन्तरिक तथा बाह्य पर्यटक पनि आउने गरेका छन् । भरतपुर, ‘गैँडाले पानी खान आउने  ताल भएकाले यो ताललाई राइनो ताल भनिएको हो ।  यहाँ गैँडासँगै विभिन्न प्रजाति चरा, गोही, हरिण, मृग, जरायोलगायतका वन्यजन्तु हेर्न पाइन्छ । 

महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्तले तालको संरक्षण र सफाई गरेसँगै पर्यटकको आगमन बढ्दै गएको बताउनु भयो  ।  ‘दुर्लभ जङ्गली जनावर अवलोकनका लागि यो ताल महत्वपूर्ण मानिन्छ। तर प्रचार प्रसारको अभावमा अलिकति ओझेलमा परेको छ । वडाध्यक्ष पन्तले भन्नुभयो  । राइनो तालमा पर्यटक भित्र्याउने सके यस नजिकैका   बिसहजारी ताल र  बाटुली पोखरीमा पनि पर्यटकको आगमन वृद्धि गर्न सकिने उहाँको भनाई छ । राइनो तालमा ड्याम निर्माणका साथै डुङ्गा शयर, वन्यजन्तु अवलोकनका लागि मचान, विश्रामस्थल, शौचालयलगायत विभिन्न भौतिक संरचना पनि निर्माण गरिएको छ ।

राइनो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो ताल दुई मिटरदेखि साढे पाँच मिटरको गहिराइ रहेको छ। रामबेल सामुदायिक वनका अध्यक्ष माधव धिताल राइनो तालमा सुक्खा मौसममा पनि पानी प्रशस्त हुने भएकाले वन्यजन्तुका लागि महत्वपूर्ण रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘राइनो तालमा सुक्खा मौसममा पनि पानी प्रशस्त रहने भएकाले वन्यजन्तुका लागि महत्वपूर्ण छ, तालमै पानीको स्रोत भएकाले पानी सुक्दैन।’ 

यो ताल अवलोकनका लागि मासिक दुई हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ घोषणापछि मात्र यहाँ आउने पर्यटकको रेकर्ड राख्न सुरु गरिएको हो । दुई महिना यता यहाँ आउने पर्यटकहरूको रेकर्ड राख्न शुरु गरिएको हो । ताल अवलोकन गर्न आउने पर्यटकका लागि २० प्रवेश शुल्क लिने गरिएको  छ । 

भरतपुर भ्रमण वर्ष सुरु भएपछि पर्यटक आवागमनका वृद्धि हुँदै गएको वनका अध्यक्ष धितालको भनाइ छ। राइनो ताललाई विसं २०६२ देखि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न शुरु गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button