तपाईँ सुन्दै हुनुहुन्छः

देशका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण १२ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा चट्याङ लागेर १२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म प्राप्त विवरण अनुसार कास्की, लमजुङ, ओखलढुङ्गा, कैलाली र कपिलवस्तुमा गरी मनसुनजन्य विपद्का कारण १२ जनाको मृत्यु भएको हो ।

अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

यसैगरी, गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो ।

यस्तै, लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चार जनाकै शव फेला परेको छ । पहिरोमा परी बेपत्ता भएका ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिनुभयो । यसैबीच लमजुङको दोर्दी गाउँपालिका–९ मा गए राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ ।

यस्तै, ओखलढुङ्गामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । पहिरोमा परी २ जना गम्भीर घाइते भएका छन् ।

उता कैलालीमा आज वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । चट्याङ लागेर जोशीपुर गाउँपालिका ३ का ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका १८ का २७ वर्षीय शालिम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले बताउनुभयो ।

यस्तै, कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उहाँहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृत्यु हुनेमा यशोधरा गाउँपालिका ६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका १० धनकौलीका १७ वर्षको राजु ठाकुर रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button