तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी क्लबलाई पाँचौँ गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि 

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौँ गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा बुधबार भएको फाइनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । 

आर्मीको जितमा प्रदीप राजवंशीले ४ गोल र दिपेन्द्र अयरले १ गोलको योगदान दिनु भएको हो । पुलिसका रोमन रानाले सान्त्वना एक गोल गर्नु भएको थियो । प्रतियोगिताको फाइनल खेलमा आर्मीका मनोज चौधरी म्यान अफ दी म्याच घोषित हुनु भयो । फाइनल खेलमा रेफ्रिको निर्णय नमाने पछि पुलिसले केही समय मैदान छाडेको थियो भने केही समय खेले पश्चात् अन्तिम समयमा करिब ४ मिनेट पुनः मैदान छाडेको थियो ।  

उपाधि सहित आर्मीले ५० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भएको पुलिसले ३० हजार र तेस्रो भएको घरेलु टिम गण्डकी प्रदेश तेस्रो भएको हो । गण्डकीले कर्णाली प्रदेशलाई पराजित गरी तेस्रो भएको हो । 

त्यसै गरी प्रतियोगितामा आर्मीका दिपेन्द्र अयर उत्कृष्ट खेलाडी घोषित हुनु भयो । त्यसै गरी दिपेन्द्र राजवंशीले प्रतियोगितामा ११ गोल सहित सर्वाधिक गोलकर्ताको उपाधि जित्नु भयो । कर्णाली प्रदेशका १४ वर्षका खेलाडी सुशान्त रोका उदीयमान खेलाडी घोषित हुनु भयो । विभिन्न विधाका खेलाडीहरूलाई जनही ५/५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । 

प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा, संघका अध्यक्ष अनिल शर्मा, महासचिव सुवर्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । 

नेपाल हक्की सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा भएको प्रतियोगितामा विभागीय दुई नेपाली सेना र नेपाल प्रहरी तथा छ वटा प्रदेशका टिमको सहभागिता रहेको संघ प्रदेशका अध्यक्ष दीपक थापाले बताउनु भयो । प्रतियोगितामा गण्डकी प्रदेश हक्की सङ्घले व्यवस्थापन गरेको हो । यसैबिच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्री बिन्दुकुमार थापाले पोखरा रङ्गशालामा रहेको मिडिया सेन्टर समेत अवलोकन गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button