तपाईँ सुन्दै हुनुहुन्छः

चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ गते हुने

पोखरा । अन्नपूर्ण पदमार्गमा यही जेठ २१ गते हुने चौथो संस्करणको अन्नपूर्ण म्याराथन–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो ।

प्रतियोगितामा हालसम्म ४ विदेशीसहित ५० जना धावकहरूले सहभागी हुने गरी नाम दर्ता गराएको समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरुङले बताउनुभयो । प्रतियोगितामा १० महिला र ४० जना पुरुष धावकहरू सहभागी हुने उहाँले जनाउनुभयो । यद्यपि, प्रतियोगितामा सहभागिताका लागि यही जेठ १५ गतेसम्म नाम दर्ता गर्न सकिने गुरुङले बताउनुभयो ।

महिला तथा पुरुष दुवै तर्फका लागि हुने म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १ लाख ५० हजार, १ लाख र ७५ हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरूप विशेष पुरस्कारको व्यवस्था गरिएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार आयोजकले निर्धारण गरेको छ ।

पर्यटनका लागि सबै मौसम भन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि म्याराथन सुरु गरिएको थियो ।

विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” का रूपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button