तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा साइबर सुरक्षाबारे अनुशिक्षण

जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा धनुषा जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीहरूलाई साइवर सुरक्षासम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्त्रालयका साइवर सुरक्षाका क्षेत्रमा कार्यरत रहेका विज्ञहरूले सूचना प्रविधिको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिँदै बैङ्क तथा वित्तीय संस्थाहरू मार्फत डिजिटल भुक्तानी दिँदा अर्काको वाईफाई प्रयोग नगर्नका लागि सुझाव दिनुभएको थियो ।

विज्ञहरूले अति गोप्य पासवर्डहरू कम्तीमा पनि ६ महिनामा परिवर्तन गर्नका लागि सुझाव दिँदै इमेलको प्रयोग गरिसकेपछि अनिवार्य रुपमा लगइन गर्न साइबरका विज्ञहरूले सुझाव दिनुभएको थियो ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले साइवरको प्रयोगमा वृद्धि भए पनि जिल्लाहरू तथा प्रदेशमा कम्प्युटर इन्जिनियरको दरबन्दी नहुनु चिन्ताको विषय भएको बताउनुभयो ।

उहाँले पेपर लेस कार्यालयहरू बनाउने नीतिको प्रभावकारी कार्यान्वयनका लागि साइबर सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै एक दिने अनुशिक्षणले कर्मचारीहरूमा यस विषयमा थोरै भए पनि सजग बनाउने काम मन्त्रालयबाट भएकोमा खुशी व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव अनिल कुमार दत्तले साइवर सुरक्षाका विषयमा नेपाल सरकार संवेदनशील भएको बताउँदै मन्त्रालयले सूचना प्रविधिसम्बन्धी ऐनमा साइबर सुरक्षा थप गरेर ऐन ल्याउन लागेको बताउनुभयो ।

उहाँले मन्त्रालयले सामाजिक सञ्जालमा हुने गरेको दुरुपयोगको विषयमा गम्भीर भएकाले नै टिकटक बन्द गर्ने काम भएको बताउँदै अन्य सामाजिक सञ्जालहरूको मन्त्रालयले निरन्तर रुपमा नियमन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका साइवर सुरक्षाका जानकार इन्जिनियर सरोज कुमार पोखरेलले साइबर सुरक्षाका विभिन्न विषयमा जानकारी दिँदै डिजिटल भुक्तानी दिँदा अपनाउनुपर्ने सावधानी, इमेलदेखि सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button