तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा २३ हजार पाँच सय ३७ जना पर्यटकहरू भ्रमण गरेका छन् । बाघ हेर्नका लागि प्रख्यात मानिएको बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको वैशाख मसान्त सम्ममा ती पर्यटकहरूले निकुञ्ज भ्रमण गरेका हुन् ।

निकुञ्ज भ्रमण गर्नेमा सबैभन्दा बढी नेपाली नागरिक रहेका छन् । कुल पर्यटक मध्ये ६९.१३ प्रतिशत १६ हजार दुई सय ६९ जना पर्यटक नेपाली रहेका छन् । भने २५.७२ प्रतिशत छ हजार ५३ जना पर्यटक विदेशी रहेका छन् । त्यसैगरी ५.१६ प्रतिशत एक हजार दुई सय १५ जना पर्यटक भारत लगायत सार्क मुलुकका रहेका छन् ।

अघिल्लो आर्थिक बर्ष २०७९/८० को वैशाख मसान्त सम्ममा नेपाली पर्यटक १४ हजार नौ सय ९१, विदेशी पर्यटक पाँच हजार नौ सय ८९ र सार्क राष्ट्रका एक हजार नौ जना गरी २१ हजार नौ सय ८९ जना पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आएका थिए ।

गत वर्षको तुलनामा यस आर्थिक वर्षमा पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत आशिष न्यौपानेले बताउनुभयो । विगत वर्षहरूको तुलनामा पर्यटकहरू र उहाँहरूबाट सङ्कलन हुने राजश्वमा वृद्धि भएको छ ।

पर्यटकहरूको वृद्धि भएसँगै बर्दियाका पर्यटन व्यवसायीहरू पनि हर्षित भएका छन् । कोरोनापछि सुस्ताएको पर्यटन व्यवसाय पुनः तङ्ग्रिँदै गएको पर्यटन व्यवसायी रामजी थापा बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button