तपाईँ सुन्दै हुनुहुन्छः

डिजिटल नेपालले मुलुकमा आमूल परिवर्तन ल्याउँछ: सञ्चार मन्त्री गुरुङ

“एक महिना भित्र जनतालाई अनुभूति हुने गरी काम गर्छौ , अब असफल हुने हामीलाई छुट छैन”

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपालले मुलुकमा आमूल परिवर्तन ल्याउने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री गुरुङले डिजिटल नेपालले मुलुकमा आमूल परिवर्तन आउने हुँदा सरकार हाल डिजिटल नेपाल बनाउने अभियानमा लागेको बताउनु भएको हो ।

हालसम्म डिजिटल नेपाल बनाउने फ्रेमवर्क बनेको उल्लेख गर्नुहुँदै उहाँले कुनै फाइलहरुको तोक तथा टिप्पणी उठाउँदा हाल आफ्नो मन्त्रालयबाट डिजिटल नेपालको अभियान अन्तर्गत कलमले दस्तखत नगर्ने तर अनलाइनबाटै सञ्चालन गर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो “नेपालमा ई-भर्सन कायम गर्न पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ, त्यसमा म अधिकतम रुपमा मेरो मन्त्रालयबाट केही सुरुवात गर्छु । ” टेलिफोन नभएको स्थानमा पुर्‍याउने आफ्नो जिम्मा भएको बताउनुहुँदै मन्त्री गुरुङले पछिल्लो समयमा अनलाइन र अनलाइन टेलिभिजनहरूले सञ्चार माथिको विश्वसनीयता माथि प्रश्न उठ्ने काम भएकोले त्यसको अब नियमन र अनुगमन गर्ने बताउनु भयो । वडा देखि सरकारी तथा गैरसरकारी संघ संस्थाहरूको सम्पूर्ण नेपालको तथ्याङ्क आफ्नो मन्त्रालयमा रहने उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले त्यसलाई डिजिटल गराउने आफूहरू अभियानमा रहेको बताउनु भयो ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका मन्त्री गुरुङले हालसम्म आफूले थाहा पाएसम्म कुनै पनि मुख्यमन्त्रीहरुले प्रदेशको दिगो र संस्थागत विकासको लागि संघ सरकारले दिने बजेट पर्याप्त मात्रामा माग्न नसकेको दाबी गर्नु भयो ।

देशका दुई ठुला दल मिल्नु विरलै मात्रमा हुने संसदीय अभ्यास भएको उल्लेख गर्नुहुँदै उहाँले देशमा भएको अस्थिरता र कानून संशोधनको लागि दुई ठुला दल बिचको गठबन्धन भएको उल्लेख गर्नु भयो । अहिलेको सरकारलाई अब देशमा आर्थिक विकास र समृद्धि गराउनु पर्ने ठुलो दायित्व आएको बताउनुहुँदै अब देशमा अस्थिर राजनीतिक बनाउने छुट कसैलाई नभएको बताउनुभयो ।

अहिलेको सरकार असफल भए मूलधारका ठुला पार्टीहरू पुरानो भई असफल हुने मन्त्री गुरुङले बताउनु भयो । यो सरकारले फरक ढङ्गका साथ काम गर्ने उहाँको भनाई छ । जनतामा जुन निराशा छाएको छ र सरकार प्रतिको विश्वास गुम्दै गएको छ त्यसको लागि अहिलेको सरकारले एक महिना भित्र जनतालाई अनुभूति हुने गरी आफूहरूले कामको थालनी गरेको उहाँको भनाई छ । सूचना तथा प्रविधि मन्त्रालय सहितका धेरै निकायमा कानुनहरू समेत संशोधन गर्न आवश्यक भएको मन्त्री गुरुङले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button