तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क मुटु परीक्षण शिविरबाट सात सयजना लाभान्वित

बागलुङ । बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्षित गरी सञ्चालन भएको निःशुल्क मुटु परीक्षण शिविरबाट सात सय जनाले सेवा लिएका छन् । 

गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।

शनिबार साँझ सम्पन्न भएको शिविरबाट सबैभन्दा बढी दुर्गम गाउँका नागरिक लाभान्वित भएका छन् । शिविरमा उपचार र अन्य सेवा लिने अधिकांश ज्येष्ठ नागरिक थिए । लामो समयदेखि मुटुको उपचार गराउँदै आएका बिरामीको विशेषज्ञ डाक्टरले परीक्षण गर्नुका साथै औषधि प्रदान गरेका थिए । 

शिविरमा परीक्षण  गराएकामध्ये १० जना मुटुका नयाँ बिरामीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचारका लागि ‘रेफर’ गरिएको थियो । सातजना विशेषज्ञ डाक्टरसहित २८ स्वास्थ्यकर्मीको टोलीले शिविर सञ्चालन गरेको हो । सामान्य समस्या रहेका बिरामीलाई औषधि उपलब्ध गराइएको थियो भने जटिल समस्या भएकालाई उपचारका लागि सुविधासम्पन्न  अस्पतालमा जान सुझाएको हृदय रोग केन्द्रका निर्देशक डा रवि मल्लले बताउनुभयो ।

मुटुसम्बन्धी रोगका बिरामी बढ्न थालेपछि गाउँमा शिविर सञ्चालन गरेको  शिविर संयोजक शेरचनले बताउनुभयो । भविष्यमा पनि यस्ता शिविर सञ्चालनका निम्ति आफू क्रियाशील रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button