तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण नवलपुरको पहाडी क्षेत्र जाने सडक अवरुद्ध

नवलपुर । आज बिहानैदेखि भएको अविरल वर्षाका कारण नवलपरासी पूर्व ( नवलपुरको ) पहाडी क्षेत्र जाने मुख्य सडकखण्ड अवरुद्ध भएको छ ।

पहाडी क्षेत्र जाने मुख्य सडक खण्ड दलदले–डेढगाउँ खण्डको पोखरी भित्री सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । लगातार वर्ष भएको कारण तत्कालै खुलाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

यसैगरी कालिगण्डकी करिडोर अन्तरगत जिल्लाको बुलिङटार–६ मा पर्ने फुलमतिखोला बढ्दा सडक अवरुद्ध भएको छ । वर्षा नरोकिएसम्म उक्त खण्ड सञ्चालनमा आउन नसक्ने पौडेलले बताउनुभयो । सडक अवरुद्ध बनेपछि करिडोरको बाटो हुँदै जिल्लाको पहाडी क्षेत्र र पाल्पा तनहुँसम्म पुग्ने सवारी र यात्रु अलपत्र परेका छन् ।

यसैबीच नवलपुरको कावासोतीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् ।

कावासोती –१४ अग्यौली स्थित बुद्धिराम महतोको खेतमा धान रोप्ने क्रममा सोही ठाउँ निवासी ४६ वर्षीया दिल कुमारी थरुनी चट्याङ्ग लागेर घाइते भएको प्रहरीले जनाएको छ । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button