तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलङ्कामा हुरीका कारण सात जनाको मृत्यु, ५०० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारियो

कोलम्बो । श्रीलङ्कामा शनिबार चलेको हावाहुरीले रूखहरू ढल्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । 

हुरीसँगै शनिबार साँझ आएको वर्षा कारण सम्भावित डुवान र बाढीलाई मध्यनजर गर्दै कम्तीमा ५०० व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का निर्देशक प्रदीप कोडिपिलीले जानकारी दिनुभयो । 

केन्द्रका निर्देशक कोडिपिलीले प्रतिकूल मौसमका कारण मुलुकभर ४२ हजार ६०४ जना प्रभावित भएको सञ्चारमाध्यमलाई बताउनुभयो । 

हुरीका कारण ढलेका रूख र भाँचिएका रूखका हाँगाले लागेर कम्तीमा सात जनाको मृत्यु भएको र तीन हजार १३७ घरमा क्षति पुगेको उहाँले बताउनुभयो ।

श्रीलङ्काको मौसम विज्ञान विभागले आगामी दिनमा देशका केही भागमा वर्षा जारी रहने जनाएको छ ।

पश्चिमी, सबारागामुवा, मध्य, उत्तर–पश्चिम र दक्षिणी प्रान्तका केही स्थानहरूमा मेघ गर्जनसहित वर्षा हुनेछ । सबारागामुवा प्रान्त र नुवारा–इलिया जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा माथि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button