तपाईँ सुन्दै हुनुहुन्छः

भियतनामी कम्युनिष्ट पार्टीका नेता ट्रोङको अन्त्येष्टि शुक्रबार गरिने, श्रद्धाञ्जलीका लागि हजारौँ शुभचिन्तकको उपस्थिति

भियतनाम । भियतनामको राजधानी हनोईमा बिहीबार भियतनामी कम्युनिष्ट पार्टीका नेता गुयेन फु ट्रोङको अन्त्येष्टिका लागि उच्च अधिकारीसहित हजारौँ नागरिक भेला भएका छन् ।

गत साता राजधानी हनोईको एक सैनिक अस्पतालमा वृद्धावस्थाका कारण देखिएका गम्भीर रोगका कारण निधन भएका ८० वर्षीय उहाँ दशकौँपछि भियतनामले पाएको सबैभन्दा शक्तिशाली नेता हुनुहुन्थ्यो ।

भियतनामका धेरै वरिष्ठ नेताहरूको अन्तिम विश्राम स्थल माई डिच कब्रिस्तानमा शुक्रबार अपराह्न ३ः०० बजे ट्रोङको अन्त्येष्टि गरिनेछ भने बिहीबारदेखि नै सर्वसाधरणकालागि लागि श्रद्धाञ्जलीका लागि राखिएको छ ।

सन् २०११ देखि पार्टीको नेतृत्व गर्दै आएका ट्रोङ सन् १९८६ मा देशको अर्थतन्त्रको उदारीकरणपछि लगातार तीन पटक पार्टीको नेतृत्व सम्हाल्ने पहिलो नेता हुनुहुन्छ ।

उहाँलाई पार्टी, प्रहरी, सशस्त्र बल र व्यवसायमा फैलिएको भ्रष्टाचार विरोधी उच्च प्रोफाइल अभियानका लागि भियतनामी जनताले सम्मान गर्ने गरेका छन् भने कतिपय विश्लेषकहरूले यसलाई राजनीतिक कलहसँग पनि जोडिएको बताउने गरेका छन् ।

मध्य हनोईस्थित राष्ट्रिय अन्त्येष्टि गृहमा नेताको ठूलो चित्र र दर्जनौँ पदकमुनि झण्डा ढाकिएको ट्रोङको कफिन राखिएको छ भने कफिन वरपर पहेँलो फूलको गुच्छा र धूप बालिएको छ । कालो र सेतो हेडब्यान्ड लगाएका ट्रोङको परिवारले शोकसन्तप्त शुभचिन्तक तथा आफन्तजनहरूलाई अभिवादन गदै अन्त्येष्टिमा कुनै पनि परम्परागत नगद खाम वा फूलहरू नदिन अनुरोध गरेका छन् ।

शोक अवधिभर देशभरका सबै झण्डा आधा झुकेका छन् भने मनोरञ्जन र खेलकुदका कार्यक्रम स्थगित गरिएको छ ।’महासचिवको निधनले पार्टी, राज्य, जनता र परिवारका लागि अपूरणीय क्षति भएको छ,’ पोलिटब्युरो सदस्य लुओङ कुओङले भन्नुभयो । ट्रोङको मृत्युको घोषणा हुनुभन्दा एक दिनअघि सत्ताको बागडोर सम्हालेका राष्ट्रपति तो लामसहित देशका शीर्ष पार्टी पदाधिकारीले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न हनोई पुगेका दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सो र क्युबाकासभामुख एस्टेबान लाजो हर्नान्डेजलगायत विदेशी अधिकारीसमेतले उहाँप्रति सम्मान व्यक्त गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनाम र वासिङ्टनबिचको गहिरो सम्बन्धका हिमायतीको रूपमा ट्रोङको प्रशंसा गर्नुभएको थियो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी ट्रोङलाई ‘रूसको साँचो मित्र’ को रूपमा प्रशंसा गर्नुभएको थियो ।

सिंगापुरको आइएसईएएस–युसोफ इशक इन्स्टिच्युटका सिनियर फेलो ले होङ हिपले भन्नुभयो, “ट्रोङको नेतृत्वमा भियतनामले सबै प्रमुख शक्ति राष्ट्रसँग सन्तुलित विदेश नीति कायम गर्न सफल भएको छ ।”

“यसका कारण भियतनामले महत्वपूर्ण आर्थिक विकास हासिल गर्न सफल भएको छ र अब सन् २०३० सम्ममा उच्च मध्यम आय भएको अर्थतन्त्र बन्ने बाटोमा छ,” उहाँले एएफपीसँग भन्नुभयो ।

ट्रोङको खराब स्वास्थ्यका कारण सन् २०२६ को पार्टी महाधिवेशनसम्म उहाँ सत्तामा रहन नसक्ने अनुमान गरिएको थियो । उहाँको रोगको विवरण सार्वजनिक गरिएको छैन। रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button