तपाईँ सुन्दै हुनुहुन्छः

फलामको उच्च मूल्य वृद्धिले ग्रिल उद्योग बन्द हुने अवस्थामा

काठमाडौँ । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले ग्रिलजन्य फलाम र निर्माण सामग्रीको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको जनाएको छ ।  

महासङ्घले शुक्रवार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चापदार्थ ‘ब्लेड’को मूल्यमा वृद्धि नभए पनि नेपाली बजारमा मूल्य बढाइएको भन्दै आपत्ति जनाएको छ ।

देशभर सञ्चालित ११ हजारभन्दा बढी ग्रिल उद्योगमा कार्यरत करिब एक लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएकाले अस्वाभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारबाही गर्ने व्यवस्था मिलाउन महासङ्घले सरोकार भएका निकायहरूको ध्यानाकर्षण गराएको छ ।

वार्षिक ५० अर्बभन्दा बढीको ग्रिलजन्य सामग्रीहरूको उत्पादन गर्दै आएका व्यवसायीको अहित हुनेगरी ठूला कम्पनीहरूले मनोमानी गरेको पनि महासङ्घको आरोप छ । 

आर्थिक मन्दीको प्रभावका कारण बन्द भई मारमा परेका उद्योगहरू बिस्तारै सञ्चालनमा आउन नपाउँदै पटक पटक ग्रिलजन्य फलाम र निर्माण सामग्रीको मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासङ्घले विज्ञप्तिमार्फत चिन्ता प्रकट गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button