तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा मनाइयो बुद्ध जयन्ती

किरात धर्मावलम्बीको साकेला चण्डी नाच सरु

उदयपुर । वैशाख शुक्ल पूर्णिमाका अवसरमा आज देशभर २५६८औँ बुद्ध जयन्ती बुद्धप्रति आस्था प्रकट गरी मनाइएको छ ।

यसै सन्दर्भमा उदयपुरको भिन्न पालिकाहरूमा समेत बुद्ध जयन्ती बुद्धप्रति आस्था प्रकट गरी मनाइएको छ । उदयपुरको बेलका, कटारी र चौदण्डीगढीमा २५६८ औँ बुद्ध जयन्ती भव्यरुपमा मनाइएको हो ।

जिल्लाको चौदण्डीगढी नगरपालिका–६ सातधारेमा ‘चौदण्डी नम् बुद्ध विहार’ सञ्चालनमा ल्याएर आज बुद्ध जयन्ती भव्यरुपमा मनाइएको छ । चौदण्डी नम् बुद्ध विहार सञ्चालन समितिले बुद्ध जयन्तीको अवसरमा बेल्टार बजार क्षेत्रमा शान्ति र्‍याली पश्चात् विहार परिसरमा रहेको बुद्धको मूर्तिमा पुजाअर्चना गर्दै बुद्धका उपदेशको चर्चा गरेर बुद्ध जयन्ती मनाएको हो ।

त्यस्तै जिल्लाको विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि निकालिएको थियो । प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामी’, ‘धम्मम् शरणम् गच्छामी’ र ‘सङ्घम् शरणम् गच्छामी’ को नारा लगाइएको थियो ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बोद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभएको थियो ।

यसैबीच किरात समुदायले मनाउने उभौली पर्व आजबाट सुरु भएसँगै उदयपुरका किरात समुदायले साकेला थानहरूमा विधिवत् पूर्जाआजासहित एक महिने उभौली पर्व मनाउन सुरु गरेका हुन् ।

जिल्लाको त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका नगरपालिका तथा लिम्चुङबुङ गाउँपालिका लगाएतका किरात बाहुल्य क्षेत्रहरूमा किराती समुदायले साकेला थानमा भेला भई साकेला सिली नाचेर उभौली पर्व मनाउन सुरु गरेका हुन ।

उभौली पर्व किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्दछन् । किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायको मागअनुसार सरकारले २०५८ साल देखी यस पर्वलाई राष्ट्रिय चाडको रुपमा मनाउने घोषणा गरेको थियो ।

मङ्सिर पूर्णिमामा पर्ने उधौलीमा प्रकृति भूमि र पुर्खाको पूजा गरी धूमधामसँग खेतीपाती थन्काउनुको साथै नयाँ अन्न प्रयोग गर्ने र वैशाख पूर्णिमाको दिन किराती समुदायले खेतीपाती सुरु गरी साकेला मनाउने चलन छ ।

वर्षमा दुई पटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न लेकबाट बेसीतर्फ बसाइ सर्ने भएकाले ‘उधौली’ भन्ने चलन रहेको छ ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button