तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरण मन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच विद्युत् व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल– बङ्गलादेशबीच हुने विद्युत् व्यापार गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा विद्युत् व्यापार क्षेत्रीय स्तरमै सहज रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि आवश्यक नियमन एवं भौतिक संरचना तयार हुँदै गएकोप्रति खुशी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र बङ्गलादेश दुवैले जलवायु परिवर्तन असर व्यहोर्नु परेको उल्लेख गर्दै यस्ता साझा मुद्दामा दुवै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बङ्गलादेशका मन्त्री चौधरीले नेपाल– बङ्गलादेशबीच ऊर्जा सहकार्य अगाडि बढेको उल्लेख गर्दै छिट्टै ऊर्जा व्यापार भएर दुवै देशले लाभ लिन सक्ने अवस्थामा पुगिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डलाई नेपाल–बङ्गलादेशबीच हुने ऊर्जा व्यापारका सबै तयारी पूरा भएको जानकारी समेत गराउनुभयो ।

मन्त्री चौधरी नेपालले आयोजना गरेको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा भाग लिन नेपाल आउनुभएको हो ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रूपक सापकोटा, प्रधानमन्त्रीका जलवायु तथा वातावरण सल्लाहकार डा.पपुलर जेन्टलसहित वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button