तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज भन्सारद्वारा १० महिनामा १ खर्ब २७ अर्ब ४६ करोड राजस्व असुली

वीरगन्ज। मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालय आईसिपीले  चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा १ खर्ब २७ अर्ब ४६ करोड ३१ लाख २२ हजार राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले चालु आर्थिक बर्ष २०८०/८१ को साउन देखि वैशाख मसान्त सम्मका लागि आईसिपी भन्सारलाई २ खर्ब २ अर्ब ९० करोड ७३ लाख ३२ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि माल-सामानको आयातमा यस आर्थिक वर्षमा समेत गिरावट आएसँगै चालु आर्थिक बर्षको १० महिनामा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आईसिपी भन्सार वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै ३७ प्रतिशत कम राजस्व असुली गरेको छ । 

अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा १० महिनामा ७५ अर्ब ४४ करोड ३२ लाख १० हजार कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  

यसैगरी वीरगन्ज भन्सार कार्यालयले भन्सार राजस्व तर्फ ४७ अर्ब २३ करोड ७२ लाख ५६ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर तर्फ ५४ अर्ब २६ करोड ५८ लाख २२ हजार राजस्व असुली भएको छ । त्यसैगरी अन्त शुल्क तर्फ ८ अर्ब ५२ करोड ८ लाख ३२ हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो । 

त्यसैगरी बीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ ११ अर्ब ३४ करोड ६५ लाख ४४ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ १ अर्ब २० करोड २२ लाख १२ हजार असुली गरेको छ । 

यसैगरी वीरगन्ज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुर तर्फ २ अर्ब ९२ करोड २० लाख ९४ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा १ अर्ब ६८ करोड ४७ लाख ८७ हजार राजस्व असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button