तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिपक्षीको विरोधकाबीच प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद ज्ञापन

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मंगलबारका दिन गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापनको प्रस्तावलाई सभाको सर्वसम्मतले पारित गरेको हो ।  बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को दुवै सभाको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभएको थियो । बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नुभयो । 

यसैगरी, बैठकले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रस्तुत गर्नुभएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना परेको थिएन । बैठकमा सभामुख घिमिरेले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिन जेठ ११ गतेका लागि मिति तोक्नु भएको छ ।

सभामुख घिमिरेले बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिने सांसदहरूलाई दलीय आधारमा नाम टिपाउन पनि आग्रह गर्नुभयो । आर्थिक वर्ष २०८१/८२ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमको संशोधन पेश गर्न जेठ ९ गते बुधवार बिहान ११ बजेदेखि दिउसो २ बजेसम्मको समयको व्यवस्था गरिएको सभामुख घिमिरेले जानकारी गराउनुभयो । 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो अवरोध कायम राखेको छ । बैठकभरि नै आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरिरहनु भएको थियो । सहकारी ठगीको विषयमा संसदीय छानविन समिति नबनेसम्म काँग्रेसले संसद् अवरोध कायम राख्ने स्पष्ट पारेको छ  । सभामुख देवराज घिमिरेले आजको बैठक सुरु गर्ने बित्तिकै कांग्रेसका सांसदहरू उठेर विरोध शुरु गरेपछि सभामुख घिमिरेले नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिनु भएको थियो । संसद् पाण्डले आफूहरू सहकारी पीडितलाई न्याय दिने अडानमा प्रतिबद्ध रहेको भन्दै संसदीय समिति नबनेसम्म विषय उठाइरहने बताउनुभयो । 

 

प्रतिनिधि सभाको अर्को बैठक जेठ ११ गते शुक्रवार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button