तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धनको भविष्य प्रधानमन्त्रीको कार्यशैलीमा भरपर्छ–महासचिव पोखरेल 

किरण शाह  । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई २०८४ सालसम्म निरन्तरता दिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भन्नुभयो,  ‘एमाले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैन । गठबन्धनलाई २०८४ को निर्वाचनसम्म निरन्तरता दिने पक्षमा हामी छौँ । गठबन्धनको भविष्य प्रधानमन्त्रीको कार्यशैलीमा भरपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पका आधारमा काम गरुन्जेल एमाले गठबन्धनकै पक्षमा रहने बताउँदै महासचिव पोखरेलले सत्ता बाहिर रहनुको छटपटीले काँग्रेस नेताहरू गठबन्धन विरोधी अभिव्यक्ति दिइरहेको बताउनुभयो । काँग्रेससँग कुनै खालको सहकार्य नहुने दाबी गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पका आधारमा काम गर्दासम्म हामी अहिलेको गठबन्धनको विकल्प खोज्दैनौँ । सत्ता बाहिर रहनुको छटपटीले कांग्रेस नेताहरू गठबन्धन विरोधी प्रतिक्रिया दिइरहनुभएको छ ।’

विगतमा कम्युनिष्ट एकता बचाउन नसक्नु गम्भीर त्रुटि भएको बताउँदै महासचिव पोखरेलले एमालेको प्राथमिकता वर्तमान गठबन्धनको निरन्तरता र बलियो कम्युनिष्ट शक्ति निर्माण नै रहेको बताउनुभयो । ‘एमालेको प्राथमिकता वर्तमान गठबन्धनको निरन्तरता हो । बलियो कम्युनिष्ट शक्ति निर्माण हो’, महासचिव पोखरेलले भन्नुभयो, ‘पार्टी एकता र २०८४ को निर्वाचनका लागि गठबन्धन निर्माण भएको नभई मुलुकलाई सङ्कटमुक्त बनाउनका लागि हो । कम्युनिष्ट शक्तिका बिचमा सहकार्यको थालनी गर्नु मात्रै हो ।’

अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताको  लामो सङ्घर्ष भएको बताउँदै महासचिव पोखरेलले संसदमा गृहमन्त्रीलाई बोल्नमा रोक लगाउनु कांग्रेसको पश्चगामी सोच भएको टिप्पणी गर्नुभयो । ‘संसदमा गृहमन्त्रीलाई बोल्न रोक लगाउनका लागि गरेको प्रयत्न परिवर्तनका लागि सङ्घर्ष गरेको पार्टी नेपाली कांग्रेसका लागि शोभनिय हुँदै होइन’, महासचिव पोखरेलले भन्नुभयो, ‘गृहमन्त्रीले आफूमाथि लागेका आरोपबारे सदनमा बोल्न पाउनुपर्छ । अनि उहाँका नाममा मात्रै होइन, सिङ्गो सहकारी समस्याका बारेमा छानबिन गरिनुपर्छ ।’

एमाले दाङको १४ औँ जिल्ला अधिवेशनको उद्घाटनका लागि दाङ आइपुग्नुभएका महासचिव पोखरेलले प्रक्रियाबाटै सहमतिमा जिल्ला नेतृत्व चयन गर्ने बताउनुभयो । दाङका नेता कार्यकर्ताले मुलुकलाई सन्देश प्रवाह गर्नेमा आफू ढुक्क रहेको महासचिव पोखरेलको भनाइ थियो । वामपन्थी र लोकतान्त्रिक आन्दोलनमा नेत्रलाल अभागीले खेलेको भूमिकाको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘दाङ नेत्रलाल अभागीको आधारभूमि हो । उहाँको स्मृति दिवसको अवसरमा जिल्ला अधिवेशन गर्न थालेको यहाँका नेता कार्यकर्ताले पक्कै पनि उहाँको योगदान बुझ्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।’

जनतामा राजनीतिलाई आधारित गर्ने सन्दर्भमा अभागीको भूमिका महत्वपूर्ण रहेको बताउँदै पोखरेलले आधारभूत तहमा पश्चिम तराईको थारु समुदायमा राजनीति चेतना प्रदान गर्ने अभागीको भूमिकालाई वर्तमान पुस्ताले बुझ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button