तपाईँ सुन्दै हुनुहुन्छः

जेठ १३ बाट बाँकेमा पोलियो रोग विरुद्ध आइपिभी खोप अभियान सुरु

बाँके । पोलियो रोग विरुद्धको आइपिभी खोप अभियान बाँकेमा सञ्चालन गर्ने तयारी गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरर्गत यही जेठ १३ गतेबाट उक्त अभियान सञ्चालन गर्न लागिएको हो । अभियान जेठ २६ गतेसम्म चल्ने बताइएको छ ।

खोप अभियान सञ्चालन गर्नुअघि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी लगायतलाई बिहीबार अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरणमा कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठले पोलियो रोग उन्मुलन गर्ने उद्देश्यका साथ आइपिभी खोप सञ्चालन गर्न लागिएको बताउनुभयो।

श्रेष्ठका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मेका बालबालिकालाई बालबालिकालाई उक्त खोप दिइनेछ । नेपालमा पछिल्लो समय पोलियो रोग देखा परेको छैन ।

अभियानमार्फत बाँकेमा २८ हजार २ सय ५१ जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख, वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनी प्रदेशमा २ लाख ५३ हजार ७९ जनालाई खोप दिने लक्ष्य राखिएको छ । यस्तै नेपालभर १४ लाख ६२ हजार ७ सय १२ जनालाई खोप दिइनेछ । 

अभिमुखीकरणमा डब्लु।एच।ओ।मा कार्यरत सरला न्यौपाने, युनिसेफका शिव सुवेदी र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका हरि आचार्यले पनि प्रस्तुतीकरण दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button