तपाईँ सुन्दै हुनुहुन्छः

डेरीबाट मनग्य आम्दानी गर्दै सन्तोष 

बाँके । गर्मीको समय सुरु भए पछि बजारमा चिसो पेय पदार्थहरू धेरै बिक्री हुने गर्दछ । शरीरलाई शीतलता प्रदान गर्नको लागि पनि धेरै जसो मानिसहरू कोक, फेन्टा, ड्यु जस्ता पेय पदार्थहरू पिउने गरेको पाइन्छ । तर कोहलपुर क्षेत्रमा पछिल्लो समय हुने हरेक खाले कार्यक्रम र भेलामा हामीले मोही खान पाउँछौ । स्थानीय कृषक अनि स्थानीय उत्पादनलाई बढवा दिन कोहलपुरमा मोही बाँड्ने संस्कृति बढ्दै गएको छ। बाँके जस्तो अत्यधिक गर्मी हुने ठाउँमा मोहीको स्वादले शीतलता प्रदान गरेपछि त्यसको छुट्टै मजा आउँछ ।

त्यही आनन्द दिनको लागि नाति,मदानी र ठेकीको सहारामा मोही पार्दै कोहलपुरलाई शीतलता प्रदान गर्दै आउनु भएको छ कोहलपुर १० निवासी सन्तोष पौडेल । उहाँले विगतदेखि नै ए वान डेरी उद्योग सञ्चालन गर्दै आउनुभएको छ । त्यसमा पनि आफै कामदार अनि आफै मालिक पनि हुनुहुन्छ ।

आधुनिक जमानामा पनि पुरानो संस्कृति जोगाउँदै गिठाको ठेकीमा मोही पार्ने सन्तोषले कोहलपुरमा आज भोलि मोही संस्कृतिको विकास गर्नुभएको छ ।सरकारी होस या गैर सरकारी कार्यालयहरूको कार्यक्रममा उहाँको डेरीको मोहीको माग यती बेला कोहलपुरमा ह्वात्त बढेको छ । बजारमा कोक, फेन्टा ड्यु जस्ता पेय पदार्थ चलन चल्तीमा आएको भएपनि पछिल्लो समय कोहलपुरमा अर्ग्यानिक मोहीको माग पनि बढेको पाइन्छ ।

‘मैले कोहलपुर नगरपालिकाको स्थापना दिवस कार्यक्रममा मोही वितरण गरेको थिए, उहाँले भन्नुभयो–‘त्यसपछि एक खालको सकारात्मक प्रभाव प¥यो । आजभोलि कुनै कार्यक्रम भयो भने मोहीको माग भइहाल्छ ।’ एउटै ठेकीको १५ हजारसम्म खर्चेर जुम्लाबाट लिएको ठेकीमा मोही पारेर आफ्नो डेरी चलाइरहेको उहाँको भनाइ छ । अहिले उहाँको डेरीमा आउने मानिसहरू मोही पारेको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्ने गरेको पनि उहाँले बताउनुभयो । 

दुग्ध विकास संस्थान कोहलपुरमा प्राविधिक काम गर्दा गर्दै २०७४ मा आफ्नै ए वान डेरी खोलेका सन्तोष पौडेलले सुरुमा रु १ लाख लगानीमा यो दुग्ध व्यवसाय शुरु गर्नुभएको हो। शुरुका दिनहरूमा कोहलपुर ११ न्युरोडमा डेरी उद्योग सञ्चालन गर्नुभएको सन्तोषले २०७६ सालदेखि कोहलपुर १० कालिकानगर स्थित आफ्नै घरमा व्यवसायलाई व्यवस्थित गरी सञ्चालन गरिरहनु भएको छ । 

एक लाखबाट सुरु गरेको लगानीको व्यवसाय अहिले ५० लाख पुगेको छ । त्यसैबाट सम्पत्ति समेत राम्रो जोड्नुभएका सन्तोषसँग अहिले ३ वटा चिलिङ भ्याट छन् । फ्याट निकाल्ने मेसिन देखि दूध चिस्याउने र तताउने मेसिन समेत उहाँसँग मौजुदा छन् ।

बजारमा थुप्रै डेरी उद्योग भएपनि अन्यको तुलनामा गुणस्तरीय हुने विश्वसनीयताले मोहीको माग कोहलपुरमा बढ्दो छ तर उहाँलाई मोही पुर्‍याउन भने हम्मे हम्मे पर्ने गरेको छ । विभिन्न पेय पदार्थलाई विस्थापित गर्ने गरि आजभोलि मोहीले बजार लिन थालेपछि उनको उद्योगमा दूध बिक्री गर्न आउने किसान पनि हौसिएका छन् ।

‘दूधको माग उच्च छ तर पर्याप्त मात्रामा पाउन नसक्दा दुधबाट बन्ने सबै बस्तुहरूको उत्पादन, माग अनुसारको आपूर्ति गर्न सकिएको छैन’ उहाँले भन्नुभयो ।  आफ्नो उद्योगका लागि बर्दियाको लक्ष्मना,भुरीगाउ, बाँकेको नरैनापुर, ढकेरी र कम्दिबाट समेत दूध आउने गरेको पौडेले बताउनुभयो । 

दिनमा ६ देखि सात सय सम्म दूध खपत गर्दै आउनुभएका सन्तोषले आफ्नो ए वान डेरीबाट विशुद्ध घ्यु प्रतिकिलो १२ सय, क्रिम प्रतिकिलो ८सय, मोही प्रति लिटर ६० रुपैयाँ, दूध प्रति लिटर १ सय रुपैयाँ र दही प्रति लिटर १ सय ४० रुपैयाँमा बिक्री वितरण गर्दै आउनु भएको छ । सन्तोषको घरमै रहेको उद्योगमा बिहानै देखि दूध मोही लिने स्थानीयको भिड हुने गर्छ । स्थानीयहरू घरमै आएर कहिबेर पर्खिएर मोही दही लैजाने गर्नु हुन्छ अनि मलाई थप हौसला पनि दिने गर्नु हुन्छ जस्ले गर्दा आफूलाई थप ऊर्जा मिलेको उहाँ बताउनु हुन्छ।

सन्तोषले ग्राहकको चाहना अनुसार होम डेलिभरी समेत गर्नुहुन्छ । ठुला ठुला कार्यक्रमहरूमा आफ्नै गाडीमा आफैले हाँकेर मोही पुर्‍याउने गर्नुहुन्छ।

डेरी एसोसिएसनका महासचिव समेत रहनु भएका सन्तोषको यो पेशाले ४ जनालाई रोजगार समेत दिएको छ भने मासिक खर्च कटाएर ६० देखि ७० हजार सम्म बचत गर्नुहुन्छ।

युवाले चाहे जस्तो सुकै अप्ठ्यारो परिस्थिति सहेर पनि केही गर्न सक्छ भन्ने गतिलो उदाहरण बनेका सन्तोषलाई श्रीमतीको हौसला साथ सहयोग र बुवा आमा दाइ भाउजूको साथ र प्रेरणा सधैँ मिलेको छ।

सन्तोषका दाजु भिम पौडेल उहाँ कोहलपुर वडा नम्बर १० का जनप्रतिनिधि समेत हुनुहुन्छ आफ्नो भाइले यसरी लगनशील भएर काम गरेको देख्दा गर्व लाग्ने गरेको बताउनु हुन्छ । ‘भाइले कामलाई कहिले सानो ठुलो भनेर भनेन बरु आफ्नो कामलाई इमान्दार साथ निरन्तरता दिई नै राख्यो जसले गर्दा अहिले कोहलपुरमा उसको आफ्नै पहिचान छ। उसको यो पहिचान र सफलताले अरू युवाहरूलाई पनि काम गर्ने प्रेरणा मिलेको छ’ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button