तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुर र खोटाङ जिल्ला जोड्ने फोक्सिङटार पुलको स्थलगत अनुगमन

उदयपुर । असोज १२ गते आएको बाढीले बगाएको उदयपुर र खोटाङ जिल्ला जोड्ने सुनकोसी नदिको फोक्सिङटार स्थित पुलको सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले स्थलगत निरीक्षण गर्नुभएको छ ।

सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा. विजय जैसीको नेतृत्वमा आएको टोलीले बिहीबार फोक्सिङटार  पुलको अध्ययन गरेर फर्केको हो ।  

एमाले नेता तथा संविधान सभा सदस्य विशाल भट्टराई सहित पुल महाशाखा प्रमुख (सुई) ललिजन खनाल, पुलचोक इन्जिनियरिङ क्याम्पसका विज्ञ डा. राजन सुवाल र डा. भरत मण्डल सहितको टोली सुनकोशी नदिमा आएको बाढीले पुल बगाएको स्थानमा पुग्नुभएको थियो । 

सुनकोसीमा अहिले पानीको सतह घटेको र बाकी रहेको २०/२० मिटरको संरचना सुरक्षित रहेको अध्ययन टोलीले निष्कर्ष समेत निकालेको छ । बगाएर बाँकी रहेको भागको भार वहन क्षमता जाँच गरेर त्यसमाथि ८० मिटरको बेलिब्रिज लगाउने या पुल बगाएको स्थान भन्दा केही माथी १२० मिटरको बेलीब्रीज हालेर यातायात सुचारु गर्ने विषयमा छलफल भई रहेको पुल महाशाखा प्रमुख ललिजन खनालले जानकारी दिनु भयो । महाशाखा प्रमुख खनालका अनुसार सडक विभागले ८० मिटर भन्दा माथिको बेलिब्रिज भारत सरकार सँग माग गरेको र आउने बित्तिकै जडान प्रक्रिया सुरु गरिने समेत बताउनु भयो । 

पुलको ८० मिटरको भाग बगाएको हुनाले त्यसैमा बेलिबृज जोड्न ८० मिटरभन्दा लामो बेलिबृज आवश्यक हुन्छ, हाल नेपालमा उपलब्ध नभएकोले भारतबाट मगाइएको कुरा भौतिक पूर्वाधारमन्त्री मा. देवेन्द्र दाहालले बताउनु भएको एमाले नेता तथा संविधान सभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो । 

नेता भट्टराईका अनुसार हिउँद,वर्षामा चल्ने गरी बेलिबृज तत्काल जोड्ने र अर्को स्थायी पुलको कार्य अघि बढाउने गरि प्रक्रिया अघि बढाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button