तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीहरूमा चौतर्फी विकासका लागि आइडिया स्टुडियोको सहकार्य

काठमाडौँ । विद्यार्थीहरूको शिक्षा, अनुसन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि मकवानपुर बहुमुखी क्याम्पस र काठमाडौँस्थित आइडिया स्टुडियो नेपालले सहकार्य गर्ने भएका छन् ।

सहकार्यसम्बन्धी सहमति पत्रमा मकवानपुर बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा.याम बहादुर सिलवालले र आइडिया स्टुडियो नेपालका तर्फबाट सो संस्थाका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले हस्ताक्षर गर्नुभयो ।

सो सहकार्यको मुख्य उद्देश्य नवप्रवर्तनमा थप टेवा पुर्‍याउने रहेको आइडिया स्टुडियो नेपालकी वातावरणीय प्रभाव तथा व्यवसाय बिकास अधिकृत प्रज्ञा घिमिरेले बताउनुभयो ।

आइडिया स्टुडियो नेपाल र मकवानपुर बहुमुखी क्याम्पबिचको यस्तो सहकार्यले नवप्रवर्तन मार्फत विद्यार्थीहरूमा चौतर्फी विकास हुने अपेक्षा गरिएको छ ।

आइडिया स्टुडियो नेपालले सामाजिक रूपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्षदेखि निरन्तर काम गर्दै आएको र यसले सम्भाव्य व्यावसायिक विचारहरूलाई व्यवसायमा परिवर्तन गर्ने, सामाजिक परिवर्तनलाई प्रज्वलित गर्ने र नवप्रवर्तनको माध्यमबाट उद्यमशीलताको प्रवर्द्धन गर्ने प्ल्याटफर्मको रुपमा काम गर्दै आएको बताइएको छ ।

यस्तै मकवानपुर बहुमुखी क्याम्पस २०३७ सालमा मकवानपुर जिल्लामा स्थापना गरिएको सार्वजनिक क्याम्पस हो भने यस क्याम्पसले मकवानपुर जिल्लाका साथै छिमेकी जिल्लाका जनतालाई पनि उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button