तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय पुँजीको विकास बिना समाजवादमा जान सकिँदैन : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजीको विकास बिना समाजवादमा जान नसकिने बताउनुभएको छ । 

बुधबार नेकपा एमाले कास्कीको आयोजनामा पोखरा १६ खोलाखेत स्थित मदन–आश्रित स्मृति पार्कमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय पुँजीको विकास बिना समाजवादमा जान नसकिन दाबी गर्नुभयो ।

जनताको बहुदलीय जनवादले पुँजीवादी जनवादमा मात्र नभएर समाजवादमा पनि दलीय प्रतिस्पर्धालाई खुला गरेको उहाँको भनाई थियो । जननेता मदन भण्डारीको विचारलाई अनुसरण गर्दै उहाँको सपना साकार पार्नुपर्ने अधिकारीले बताउनुभयो । 

नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको सचिव दर्शन लामाले जनाउनुभयो ।  

कास्कीको जिल्ला अधिवेशन उद्घाटन गरेर फर्कने क्रममा २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो । 

एमाले कास्कीले स्मृति दिवसको अवसरमा बिहीबार जिल्ला पार्टी कार्यालयमा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा मदन आश्रितको योगदान विषयक’ प्रवचन कार्यक्रमको आयोजना गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button