तपाईँ सुन्दै हुनुहुन्छः

जीवनोपयोगी शिक्षण सिकाइमा जोड दिनुपर्छ : मन्त्री चौधरी

काभ्रेपलान्चोक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनोपयोगी शिक्षण सिकाइमा जोड दिनुपर्ने बताउनुभएको छ ।

भालेश्वर माध्यमिक विद्यालय पनौती नगरपालिका ८ काभ्रेपलान्चोकको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले संघीय शिक्षा ऐन संघ, प्रदेश र स्थानीय तहका सरकारलाई शिक्षाको विकासप्रति जिम्मेवार बनाउनुपर्ने गरी आउनुपर्ने बताउनुभयो छ । उहाँले शिक्षा ऐनसँगै विश्वविद्यालय र विद्यालय शिक्षा ऐन पनि संसद्‍मा दर्ता भएको बताउनुभयो ।

स्थानीय निकायहरूले सामुदायिक विद्यालयलाई समेत प्रभावित पार्ने गरी विभिन्न नियमहरू लगाउने प्रवृत्ति पनि बढेको भन्दै उहाँले ती कुराको पनि सम्बोधन हुने गरी ऐन आउनुपर्ने बताउनुभयो । शिक्षकहरूलाई राजनीतिक दलमा लाग्न दिइनुहुँदैन भन्ने कुरा शिक्षामन्त्रीले अगाडि सारेको भन्दै उहाँले शिक्षालाई संघीय, प्रदेश र स्थानीय तीनै सरकारबिच कसरी समन्वय गरेर लैजान सकिन्छ भनेर ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

किशोरीहरूको आत्म रक्षाका लागि सबैले अनिवार्य रूपमा आत्मरक्षा तालिम लिनुपर्ने मन्त्री चौधरीको भनाई थियो । मन्त्री चौधरीले सरकारमा आबद्ध भएका व्यक्तिका सन्तानहरूलाई सामुदायिक विद्यालयमा भर्ना गर्नैपर्छ भन्ने अवधारणा पनि ल्याउन आवश्यक रहेको बताउनुभयो ।

विद्यालयहरूले नैतिक शिक्षामा पनि जोड दिन आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो । शिक्षण सिकाई विद्यार्थी केन्द्रित हुन आवश्यक रहेको भन्दै उहाँले अतिरिक्त क्रियाकलापहरूलाई पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री चौधरीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा विद्यालयको प्रशंसा गर्नुभयो ।

उहाँले ज्येष्ठ नागरिकहरूले पाउँदै गरेको सामाजिक सुरक्षा भत्तासँगै ज्येष्ठ नागरिकहरूका निम्ति दिवा सेवा केन्द्र जस्ता कार्यक्रम ल्याउन लागिएको बताउनुभयो ।

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री रेशम लामाले सामुदायिक विद्यालयको सुधारका निम्ति आफूले लामो समयदेखि पहलकदमी गर्दै आएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले विद्यालयलाई अझ वैज्ञानिक शिक्षण सिकाई लागू गर्नका निम्ति शिक्षकको व्यवस्थापन लगायतका विषयहरू आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button