तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट तीन जना घाइते

बाँके । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको चितुवाको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाको एउटै गाउँका तीन जना घाइते भएका छन् ।

ठाकुरबाबा नगरपालिका ६ बनखेत गाउँको बतैया टोलमा चितुवाको आक्रमणबाट २४ वर्षिया राममाया चौधरी, ५० वर्षीय हाउले भनिने होलुराम थारु र २३ वर्षीय हिमाल अधिकारी घाइते भएका शिवपुर उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बुढाले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट घाइते भएका राममाया चौधरी र होलुराम थारुलाई नेपालगन्ज मेडिकल कलेज लगिएको छ भने हिमाल अधिकारीलाई ठाकुरबाबा नगर अस्पतालमा प्राथमिक उपचार पश्चात् नेपालगन्ज पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

खेतमा हिँडिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा तीन जना घाइते भएको समितिका अध्यक्ष बुढाले जानकारी दिनुभयो । मध्यवर्ती क्षेत्रका गाउँ बस्तीमा केही साता अघिदेखि चितुवाले आतङ्क मच्चाएको खबर आएको थियो आज बिहान एक्कासि ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ बनखेत गाउँको बतैया टोलमा चितुवा आएर तीन जनालाई घाइते बनाएको समितिका अध्यक्ष बुढाले बताउनुभयो ।

अहिलेसम्म पनि चितुवा गाउँमै रहेकाले बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसिका प्राविधिकसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख अशोकरामले बताउनुभयो ।

विगत केही साता यता निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका गाउँमा चितुवाले बङ्गुर, बाख्रासमेत आक्रमण गरि मार्दै आएको स्थानीय बासिन्दाले जनाएका छन् । चितुवाको आक्रमणबाट एउटै गाउँका तीन जना घाइते भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button