तपाईँ सुन्दै हुनुहुन्छः

नौ महिनामा आयात र निर्यात दुवै घट्यो

काठमाडौँ । आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ३.७ प्रतिशतले घटेर ११३ अर्ब ९५ करोड रुपैयाँ बराबरको मात्र भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.३ प्रतिशतले घटेको थियो । यस अवधिमा गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६.२ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात २३२ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जारी गरेको मुलुकको आर्थिक अवस्थाको समीक्षा प्रतिवेदनमा औँल्याएको छ । 

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैँचा, चिया, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ । 

समीक्षा अवधिमा कुल वस्तु आयात पनि २.८ प्रतिशतले घटेर .११६७ अर्ब ३७ करोड रुपैयाँ बराबर कायम भएको छ ।न

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.२ प्रतिशत र २२.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.४ प्रतिशतले बढेको छ । 

वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाई जहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ । 

आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेर १०५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १११ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०१ अर्ब ६७ करोड बराबरको भएको थियो । 

समीक्षा अवधिमा खुद सेवा आय ५२ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ९१ करोडले घाटामा रहेको थियो ।

चालु आर्थिक बर्षको नौ महिनाको अवधिमा नेपालमा हुने विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १ हजार ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १ हजार ७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button