तपाईँ सुन्दै हुनुहुन्छः

थारु समुदायका बडघरहरुलाई कानुन सम्बन्धि क्षमता बिकास तालिम

नवलपरासी,पश्चिम्।थारु समुदायमा पुस्तौँ देखि चल्दै आएको बडघर प्रचलनका अगुवाहरूलाई प्रचलित कानुनका बारेमा अभिमुखीकरण गर्ने उद्देश्यले उनीहरूलाई सो सम्बन्धि क्षमता बिकास सम्बन्धि तालिम दिइएको छ ।

उद्योग पर्यटन तथा सहकारी मन्त्रालय मातहतको पर्यटन डिभिजन कार्यालय रुपन्देहीको सहयोगमा ५ दिवसीय तालिम बुधबार पश्चिम् नवलपरासीको बर्दघाटमा समापन गरिएको हो ।कार्यालयले कपिलबस्तु,रुपन्देही र नवलपरासीमा रहेका बडघरहरुलाई उक्त तालिम प्रदान गरिएको पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्यले जानकारी दिनुभयो ।

“मुलत हामीले थारु समुदायको बडघर प्रथाको संरक्षण सहित उनीहरूलाई प्रचलित कानुनका बारेमा समेत जानकारी होस भन्ने उद्देश्यले कार्यक्रम गरेका हौ,कानुनको पूर्ण ज्ञानको अभावमा ग्रामीण क्षेत्रका नागरिक न्यायिक पहुँचमा पुग्न नसकेको अवस्थामा यो तालिमले थप सहज होस भन्ने नै हो”आचार्यले भन्नू भयो ।

कार्यक्रममा समाजमा घट्ने फौजदारी एवम् देवानी सम्बन्धि कानुनका बारेमा जानकारी गराइएको थियो ।थारु लोककल्याणकारी सभा पश्चिम् नवलपरासीका सल्लाहाकार पुरन चौधरीले बडघरहरुको क्षमता बिकास तालिमले थारु समुदायको संस्कृतिको रुपमा रहेको बडघर प्रथाको समेत संरक्षणमा टेवा पुग्ने बताउनु भयो

उहाँले पुर्खाको समयमा नेपालमा आधुनिक कानुनको बिकास नहुँदा थारु समुदायका पुस्ताहरूले बडघर मार्फत न्यायिक निरुपण गराउने र थारु समुदायमा मात्रै नभै नेपालको इतिहासमा घरायसी मुद्दा हरुमा बडघरले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।तर अहिले यो बडघर प्रथा लोपोन्मुख अवस्थामा रहेकाले राज्य यसको संरक्षणमा चुकेको चौधरीको गुनासो छ ।

कार्यक्रममा न्यायिक निरुपणका बारेमा सहभागीहरूलाई नाटकीय अभ्यास समेत गराइएको थियो ।बडघर प्रथा सँगै थारु समुदायको कला सस्कृती र भेषभुषा हराउँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।रुपन्देही र नवलपरासीमा बडघर प्रथाको स्थान टोल बिकास समितिहरूले लिएकाले यो प्रथा नवलपरासीमा नरहेको र कपिलवस्तुमा भने अझै पनि बडघरहरु रहेको पर्यटन डिभिजन कार्यालयले जनाएको छ ।

यसै गरि कार्यक्रमको दोस्रो चरण अन्तर्गत थारु समुदायका भेषभुसा बनाउने तालिम समेतको आयोजना गरिएको कार्यालयका अधिकृत जनक खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button