तपाईँ सुन्दै हुनुहुन्छः

मधेशकै प्रमुख पर्यटकीय स्थल ठोरीमा जङ्गल सफारी शुरु

वीरगन्ज । मधेस प्रदेशकै प्रमुख पर्यटकीयस्थल पर्साको ठोरीबाट जङ्गल सफारी सुर गरिएको छ । ठोरी गाउँपालिका–२ मा रहेको ठोरी जङ्गल रिसोर्टले जङ्गल सफारी सेवा सुरु गरेको हो ।

सोमबार ठोरी गाउँपालिका–२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा विशेष सहभागिता र निर्मल ठोरी मध्यवर्ती समितिका अध्यक्ष बालकुमार बस्नेतको नेतृत्वमा रहेको टोलीले पहिलो पटक सफल जङ्गल सफारी गरेको हो ।

परीक्षणका रुपमा सोमबार गरिएको जङ्गल सफारी सफल पनि भएको बताइएको छ । सोमबार ठोरी जङ्गल रिसोर्टबाट सुरु भएको जङ्गल सफारी इच्छानगर हुँदै शीकारीवास, बुद्वनगरबाट हुलाकी मार्ग हुँदै पुन ठोरी जङ्गल रिसोर्टमै पुगेर सम्पन्न भएको थियो ।

सोमबार परीक्षणको रुपमा पहिलो पटक गरिएको जङ्गल सफारी सफल भएको भन्दै अध्यक्ष बस्नेतले अब केही दिनभित्रै कानुनी प्रक्रिया पुरा गरेर ठोरी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि व्यावसायिक रुपमा जङ्गल सफारी सुरु गरिने बताउनुभयो ।

उहाँका अनुसार, जङ्गल सफारी सञ्चालन गर्न समितिले ८ लाख रुपैयाँ खर्च गरेर सडक समेत मर्मत गरेको छ । जङ्गल सफारीले ठोरी क्षेत्रमा पर्यटन विकासमा नयाँ आयम थप्ने र ठोरीको पर्यापर्यटनका लागि थप आकर्षण हुने ठोरी गाउँपालिका–२ का वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

यस्तै समितिका अध्यक्ष बस्नेतले वीरगन्ज र सीमावर्ती भारतबाट ठोरी घुम्न आउने पाहुनाहरूका लागी जङ्गल सफारी अत्यन्त प्रभावकारी हुने बताउँदै ठोरीका जङ्गल भित्र र बाहिरका बस्तीहरूसँगै जङ्गली जनावरहरूको समेत दृश्यावलोकन गर्न पाईने दाबी गर्नुभयो ।

सोमबारको जङ्गल सफारीमा अध्यक्ष बालकुमार बस्नेतको नेतृत्वमा वडाध्यक्ष अमृतकृष्ण सापकोटा, नेपाली काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ, निर्मल मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष चीनबहादुर श्रेष्ठ, नेकपा एमाले ठोरीका सचिव जोगैन्द्र पौडेल, अमृतधारा होमस्टेका अध्यक्ष यादवराज कुँवर, ठोरी जङ्गल रिसोर्टका सञ्चालक धीरसिंह घिमिरे, रेन्जर दिनेश यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button