तपाईँ सुन्दै हुनुहुन्छः

पानी परेसँगै मध्य तराईमा राहत

वीरगन्ज । वीरगन्जसहित मध्य तराईका जिल्लाहरूमा सुखा खडेरी र प्रचण्ड गर्मीका कारण जनजीवन प्रभावित भइरहेको बेला पानी परेसँगै राहत भएको छ ।

सुखा खडेरीले वीरगञ्ज लगायत बारा, पर्सा, रौतहटमा खानेपानीका धारा समेत सुकेको र खडेरीका कारण किसानहरूको बाली समेत सुकेको अवस्थामा पानी परेपछि सर्वत्र खुशियाली छाएको छ ।

वीरगन्ज र यस आसपासका क्षेत्रमा करिब ६/७ महिनापछि वर्षा हुँदा गर्मीबाट आजित बनेका स्थानीयले शीतलताको महसुस गरेका छन्, ग्रामीण भेगका किसानहरू बालीनाली सप्रिने भन्दै हर्षित बनेका छन् ।

वीरगन्ज र यस आसपासको क्षेत्रमा पछिल्लो दुई साता यता तापक्रम बढेर अधिकतम ४३ डिग्री सेल्सियससम्म पुगेको थियो । दिउँसोको समयमा भने लू जस्तै तातो हावा पनि चल्न थालेको थियो । यस्तै चापाकल लगायत खानेपानीका श्रोत पनि सुक्दै जाँदा शहरी क्षेत्रमा खानेपानीको हाहाकार समेत सुरु भइसकेको थियो ।

तर आज दिउँसो लगातार डेढ घण्टा भन्दा बढी वर्षा भएपछि जमिनमुनि पानी रिचार्ज भएर चापाकलमा पानी आउन थाल्ने अपेक्षा गरिएको छ ।

खडेरीका कारण गहुँ, तोरी, र हरियो तरकारीको उत्पादन घटेर हुँदा निराश बनेका किसानहरू पानी परेर चैते धान लगायतका वर्षे बालीलाई राहत पुगेको पर्सा विरुवागुठीका किसान भुवन पौडेलले बताउनुभयो ।

वर्षा भएपछि किसानलाई खेतबारी जोत खन गर्ने र बर्खे बाली लगाउन सहज हुने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button