तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो बागमती प्रदेश युवा सम्मेलनको तयारी अन्तिम चरणमा 

मकवानपुर । बागमती प्रदेश युवा परिषद्को आयोजनामा यही वैशाख २८, २९ र ३० गते हुने दोस्रो बागमती प्रदेश युवा सम्मेलन–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन गर्दै युवाहरूको ज्ञान सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको परिषद्ले जनाइएको छ । 

पत्रकार सम्मेलनमा प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद् कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत वैशाख २८ गते देखि ३० गतेसम्म प्रदेशको राजधानी हेटौँडामा तीन दिने सम्मेलन आयोजना हुने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका ५३७ जनाले आवेदन दिएका मध्ये समावेशी अवधारणा अनुरुप छनौट भएका २ सय जना युवाहरू सहभागी हुने उहाँले बताउनुभयो ।

युवा सम्मेलनमा शिक्षा, सीप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका क्षेत्रमा गरेर ५ वटा विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ । सम्मेलनमा युवालाई लक्षित गरी अन्तरक्रिया, बहस, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप गरिने चौलागाईले बताउनुभयो ।  यी सत्रमा उठान भएका मुद्दामा छलफलका लागि युवा सम्मेलनको अन्तिम दिन अर्थात् २९ वैशाखमा मुख्यमन्त्रीसँग युवा कार्यक्रम गर्ने तयारी परिषद्को छ ।

सम्मेलनमा ‘शिक्षा: कहाँ छ समस्या ?’ भन्ने विषयमा डा. विश्वनाथ कोइराला र सामाजिक विकास मन्त्रालयका सचिव डा. भीष्मकुमार भुसालले सहजीकरण गर्नुहुनेछ । उक्त सत्रमा बाल शिक्षामा विद्यावारिधि गर्नु भएकी मिनाक्षी दाहाल प्यानलिष्टमा रहने तयारी भएको उपाध्यक्ष चौलागाईले बताउनुभयो । यसैगरी, डिजिटल साक्षरता का विषयमा विशेष प्रस्तुति हुने उपाध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । यस्तै सम्मेलनमा डिजिटल साक्षरता र नवप्रवर्तन र उद्यमशीलताका विषयमा विशेष प्रस्तुति रहने बताइएको छ । 

युवा सम्मेलन पश्चात् २०८१ लाई ‘ प्रदेश युवा सीप वर्ष’ घोषणा गर्ने तयारी गरिएको उपाध्यक्ष चौलागाईं बताउनुभयो । प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उहाँले बताउनुभयो । युवा सम्मेलनका लागि १५ लाख बजेट विनियोजन गरिएको परिषद्ले जनाएको छ । 

सम्मेलनमा कलाकार राजेश हमाल, पत्रकार टिकाराम यात्री लगायताको सहभागिता रहने चौलागाईले बताउनुभयो ।  यसअघि ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको पहिलो युवा सम्मेलनका ७ वटा बुँदा बागमती प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको परिषद्ले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button